
काठमाडौंं। जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। डोल्पा–जाजरकोट सडकखण्डअन्तर्गत नलगाड–९ ताँत्राबाट दल्लीतर्फ आउँदै गरेको लु १ च ८२२७ नम्बरको बोलेरो जिप बिहीबार साँझ अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको हो।
दुर्घटनामा नलगाड–१० का २५ वर्षीय बालकृष्ण बोहराको मृत्यु भएको छ। नगर अस्पताल दल्लीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा नलगाड–१० का २६ वर्षीय गणेश ध्यार, २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना महतारा, ३० वर्षीय राजेन्द्र ध्यार, ५२ वर्षीया रत्नाकुमारी बोहरा र १६ वर्षीय निखिल सुनार घाइते भएका छन्।
जिप चालक नलगाड–८ हलचौर निवासी २४ वर्षीय विनोद विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि इलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी सहायक निरीक्षक सन्तबहादुर थापाको कमान्डमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरेको थियो।

























