
काठमाडौं। देशका प्रमुख ठुला नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तलै रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा जलसतह सामान्य अवस्थामै छ।
प्रमुख नदीहरूमा जोखिम कम देखिए पनि देशका विभिन्न २६ जिल्ला भई बहने स-साना नदीहरूमा भने बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने महाशाखाले जनाएको छ। ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा र धादिङका साना नदीहरूमा बाढीको सम्भावना छ।
त्यसैगरी गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र आसपासका जिल्ला भएर बहने स-साना नदीहरूमा पनि जलसतह बढेर आकस्मिक बाढी आउन सक्ने अनुमान छ।
महाशाखाका अनुसार शनिबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्नेछ। यस्तै आइतबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स-साना नदीहरूमा बहाव अचानक बढ्ने सम्भावना छ।

























