
विराटनगर । बिहानको झिसमिसे उज्यालोसँगै विराटनगरको एउटा चिया पसलमा तातो चियाको गिलाससँगै दिनको सुरुवात हुन्छ। कोही हातमा पत्रिका पल्टाइरहेका हुन्छन्, कोही मोबाइल स्क्रोल गर्दै ताजा खबर हेरिरहेका हुन्छन्। कोही महानगरपालिकाको कर र विकास निर्माणका कामबारे चर्चा गरिरहेका भेटिन्छन् भने कोही बजारमा दैनिक उपभोग्य वस्तुको बढेको भाउप्रति गुनासो पोख्दै हुन्छन्।
चियाको गिलास सानो देखिन्छ, तर त्यस वरिपरि हुने कुराकानीको दायरा भने निकै फराकिलो छ।
महानगरले बाटो बनायो कि बनाएन, बजारमा व्यापारको हालखबर के छ, नेताहरूले के गर्दैछन् र आगामी चुनावमा कसको पल्ला भारी हुन्छ? विराटनगरका चिया पसलहरूमा यस्ता प्रश्नहरू सामान्य हुन्।
व्यापारिक नगरीका रूपमा चिनिने विराटनगरमा चिया पसल केवल चिया पिउने ठाउँ मात्र होइन। यहाँ मजदुरदेखि ठूला व्यापारीसम्म, कलेज जाने विद्यार्थीदेखि सरकारी कर्मचारीसम्म, राजनीतिक कार्यकर्तादेखि सामान्य गृहिणी वा सर्वसाधारणसम्मको जमघट एकै ठाउँमा हुन्छ। एउटै टेबलमा बसेर फरक–फरक पृष्ठभूमिका मानिसहरू आफ्ना भोगाइ र विचार खुलस्त राख्ने गर्छन्।
दूध, चिनी, चियापत्ती, एलपीजी ग्यास, खानेपानी र अन्य सामग्रीको मूल्य लगातार बढ्दा त्यसको सीधा मार एउटा कप चियाको उत्पादन लागतमा परेको छ।
स्थानीय चिया पसल सञ्चालक राजेश मण्डल आफ्नो अनुभव सुनाउँदै भन्छन्, ‘ग्राहक पसलमा आउँदा चियाको मूल्य अलिकति बढ्यो भने पनि गुनासो गर्नुहुन्छ। यता हामीलाई दूध र ग्यासको मूल्य बढेर चिया बेच्नै पोसाउँदैन। कसैको खल्तीमा पैसा धेरै होला, कसैकोमा कम। तर चियाको गिलास अगाडि परेपछि यहाँ कोही धनी–गरिब हुँदैनन्, सबै केवल सामान्य व्यक्ति मात्र हुन्छन्।’
राजनीतिक चेतनाको इतिहास बोकेको विराटनगरका लागि राजनीति र चियासँगको सम्बन्ध पुरानो हो। यहाँका चिया पसलहरू अनौपचारिक राजनीतिक प्रयोगशालाजस्तै हुन्।
सहरका ठूला पिच गरिएका सडक, भव्य उद्योग र सुविधायुक्त व्यापारिक कम्प्लेक्सहरूले विराटनगरको भौतिक तथा आर्थिक परिचय दिन्छन्। तर यो सहरको प्राण कहाँ छ भनेर खोज्दै जाँदा यस्तै साना गल्लीका चिया पसलमा पुग्नुपर्ने स्थानीय हिरालाल सहदेवको तर्क छ।
बिहानको चिया पिउन मण्डलको पसलमा आएका विराटनगर–१० का ७२ वर्षीय हरिहर ढकाल भन्छन्, ‘कुनै पनि ठूला राजनीतिक दलका औपचारिक सभा वा घोषणापत्र आउनुअघि नै यहाँका चिया पसलमा जनताले आफ्नो मनस्थिति बनाइसकेका हुन्छन्। यहाँ हुने चिया गफ नै जनमत बुझ्ने सबैभन्दा भरपर्दो मापनयन्त्र हो।’
एउटै टेबलमा बसेर एउटा पार्टीको पक्षमा चर्को भाषण गर्ने र अर्को पार्टीको आलोचना गर्नेहरू बहसको अन्त्यमा सँगै चियाको बिल तिर्दै हाँसीखुसी छुट्टिन्छन्। यसरी विचारको भिन्नता भए पनि सम्बन्धको मिठास नहराउनु नै यो सहरको विशेषता हो।
समय फेरिएको छ। पहिले चिया पसलहरूमा पत्रिका खोस्दै समाचार पढ्ने चलन थियो भने आजभोलि मानिसका हातमा स्मार्टफोन हुन्छन्। फेसबुक, टिकटक र अनलाइन पोर्टलका न्युज फिड हेर्दै साथीभाइसँग गफगाफ गर्ने चलन बढेको छ।
महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत एक विद्यार्थी भन्छिन्, ‘मोबाइलले हामीलाई सूचना त छिटो दिन्छ, तर त्यसबारे मुख फोरेर आफ्ना तर्क राख्ने र अरूका कुरा सुन्ने चौतारी अझै पनि चिया पसल नै हो। सामाजिक सञ्जालमा कहिलेकाहीँ आउने भ्रामक हल्लादेखि हाल के भइरहेको छ भन्ने कुरासम्म, पढाइका विषयहरूसमेत साथीहरूसँग यहीँ चिया पसलमा बसेर कुराकानी गर्ने गर्छौं।’
तातो चियाको बाफ बिस्तारै हावामा बिलाउँछ। चिया चिसिन्छ। ग्राहकहरू आ–आफ्नो काम र गन्तव्यतिर लाग्छन्। तर पसलको त्यो बेन्च खाली हुँदैन। अर्को कुनै नयाँ ग्राहक आएर फेरि नयाँ विषयको उठान गर्छ। भोलि पनि यही क्रम दोहोरिन्छ।
चिया पसलमा देखिने मुहारहरूले विराटनगरको विविधता झल्काउँछन्। बिहान सबेरै भारी बोक्न हिँडेको मजदुरदेखि पसलको सटर खोल्न हतारिएका व्यापारीसम्म, सबैका लागि यो ठाउँ साझा विश्रामस्थल हो।
सहरका ठूला पिच गरिएका सडक, भव्य उद्योग र सुविधायुक्त व्यापारिक कम्प्लेक्सहरूले विराटनगरको भौतिक तथा आर्थिक परिचय दिन्छन्। तर यो सहरको प्राण कहाँ छ भनेर खोज्दै जाँदा यस्तै साना गल्लीका चिया पसलमा पुग्नुपर्ने स्थानीय हिरालाल सहदेवको तर्क छ।
उनी भन्छन्, ‘सहरको मुटु कसरी धड्किरहेको छ भनेर जान्न ठूला सरकारी कार्यालयका फाइल पल्टाउनु पर्दैन। बिहानको एक घण्टा कुनै पनि चिया पसलमा बसेर जनताका गुनासा र सुस्केरा सुन्नुभयो भने सबै छर्लङ्ग हुन्छ।’
तातो चियाको बाफ बिस्तारै हावामा बिलाउँछ। चिया चिसिन्छ। ग्राहकहरू आ–आफ्नो काम र गन्तव्यतिर लाग्छन्। तर पसलको त्यो बेन्च खाली हुँदैन। अर्को कुनै नयाँ ग्राहक आएर फेरि नयाँ विषयको उठान गर्छ। भोलि पनि यही क्रम दोहोरिन्छ।
एक कप चियासँगै विराटनगरको कथा फेरि सुरु हुन्छ।



















