
काठमाडौं । काठमाडौंको नाकढुंगाबाट प्रहरी भन्सार छली गरेको सामनासहित एक जना बस चालकलाई प्रहरीले पक्राउ गरेको छ । नागढुंगास्थित चेक प्वाइन्टको प्रहरी टोलीले चेकजाँचका क्रममा भारतको दिल्लीबाट काठमाडौं आउँदै गरेको बसबाट ठुलो परिमाणमा अवैध सामान बरामद गरेको हो ।
बा १ ख ३५३६ नम्बरको बसमा लुकाई छिपाइ ल्याइएको अवस्थामा बिल बिजक नभएका विभिन्न विद्युतीय उपकरण तथा लत्ताकपडा प्रहरीले फेला परेका छ । प्रहरीका अनुसार बरामद सामानहरूमा विभिन्न कम्पनीका मोबाइल फोन, ल्यापटप, टेम्पर ग्लास, कपडा र जुत्ता रहेका छन् । बरामद गरिएका यी सामानको प्रारम्भिक बजार मूल्य करिब ५३ लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।
अवैध सामान ओसारपसारमा संलग्न रहेको आरोपमा बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा उदयपुरको रौतामाई गाउँपालिका–६ स्थायी ठेगाना भई हाल कटारी नगरपालिका–११ का ३४ वर्षीय पविन्द्र राना मगर रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बरामद गरिएका सामान र पक्राउ परेका चालकलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।



















