फाइल तस्बिरविराटनगर । संघीय संरचनाअनुसार प्रदेश सरकार स्थापना भएको आठ वर्ष बितिसक्दा पनि कोसी प्रदेश सरकार गौरवका आयोजना कार्यान्वयनमा कमजोर देखिएको छ । यस अवधिमा पूर्वाधारतर्फ एक अर्ब रुपैयाँभन्दा माथिका जम्मा चार वटा आयोजना मात्रै सम्पन्न भएका छन् ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार सम्पन्न भएका आयोजनाहरूमा मोरङको घिनाघाट–विराट चोक सडक र लेटाङ–६ स्थित बुधबारे सडक, तेह्रथुमको सेर्मा–जलजले–आठराई सडक र भोजपुरको तुर्केपुल–याङपाङ–फलिदो सडक रहेका छन् । यद्यपि, ६ वर्षअघि सुरु गरिएको घिनाघाट–विराट चोक सडक मन्त्रालयले सम्पन्न भएको दाबी गरे पनि विराट चोक क्षेत्रमा अझै केही काम बाँकी रहेको पाइएको छ । यो सडकका लागि चालु आर्थिक वर्ष २०८३ / ८४ मा पनि सरकारले एक करोड रुपैयाँ विनियोजन गरेको छ ।
मन्त्रालयका अनुसार प्रदेशभर एक अर्ब रुपैयाँभन्दा बढी लागतका १९९ वटा आयोजनाहरू अहिले निर्माणाधीन अवस्थामा छन् । संवैधानिक व्यवस्थाअनुसार साना आयोजना स्थानीय तह, मझौला आयोजना प्रदेश र ठुला आयोजना संघ सरकारले कार्यान्वयन गर्नुपर्ने हुन्छ। संघ र प्रदेश सरकार विभिन्न आयोजना कार्यान्वयनमा चुक्दै गएको पाइएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार कोसी प्रदेशमा यी चार वटा आयोजनाबाहेक एक अर्ब रुपैयाँ बढीका १९९ वटा आयोजना निर्माणाधीन अवस्थामा छन् । यस्ता आयोजना जिल्लागत रूपमा ताप्लेजुङमा सडकसहित नौ, पाँचथरमा १७, इलाममा १७, झापामा २३, मोरङमा ३२, सुनसरीमा १३, धनकुटामा पाँच, भोजपुरमा नौ, संखुवासभामा आठ, तेह्रथुममा ६, उदयपुरमा ११, खोटाङमा १२, ओखलढुंगामा १४ र सोलुखुम्बुमा २२ वटा निर्माणाधीन छन् । यसबाहेक दुधकोसी र तमोर नदीमा पक्की पुलहरू पनि निर्माणाधीन छन् ।
बहुवर्षीय योजनाहरू समयमै सम्पन्न नहुनुको मुख्य कारण निर्माण व्यवसायीको लापरबाही रहेको मन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार मन्त्रालयका सचिव मिलन आचार्यका अनुसार ठुला निर्माण व्यवसायीले ठेक्का लिने तर पेटी ठेकदारलाई काम लगाउने र समयमा म्याद थप समेत नगर्ने प्रवृत्तिले समस्या निम्त्याएको छ ।
हाल प्रदेशमा २४ वटा आयोजनाहरू ‘रुग्ण’ अवस्थामा पुगेका छन् । मन्त्रालयका सूचना अधिकारी ललितकुमार चौधरीले यस्ता आयोजनाका ठेकदारहरूलाई एक महिनाभित्र काम सुरु गर्न अल्टिमेटम दिइएको र अटेर गरे ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढाइने चेतावनी दिएका छन् ।
प्रदेश सरकारले पूर्वाधार, खेलकुद र पर्यटनमा ठुला योजना अघि सारेको छ । गत वर्षको लगानी सम्मेलनमा ७१ वटा ठुला आयोजना सोकेसमा राखिएका थिए । जसको कुल लागत १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ अनुमान गरिएको छ । यस्तै, विराटनगरमा इनडोर रंगशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, कोसी रिफ्रेसमेन्ट सेन्टर र विभिन्न पदमार्ग निर्माणको चर्चा भए पनि कामको गति भने सुस्त छ ।
साना आयोजनाको कार्यान्वयन सन्तोषजनक देखिए पनि अर्बाैंका ठुला आयोजना ओगट्ने र काम नगर्ने प्रवृत्तिले कोसी प्रदेशको भौतिक विकासको लक्ष्यमा चुनौती थपिएको छ ।



















