
इलाम। झापाको केचनादेखि ताप्लेजुङको कञ्चनजङ्गा जोड्ने केचना–कञ्चनजङ्गा सडक (मेची कोरिडोर) अन्तर्गत इलामको सोक्तिम–बेलासे खण्डमा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्।
लगातारको पहिरोका कारण मेची राजमार्गको इलाम–राजदुवाली खण्ड पूर्ण रूपमा अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा यो सडक प्रयोग भइरहेको छ।
झापाबाट इलाम, पाँचथर र ताप्लेजुङतर्फ जाने तथा उताबाट फर्कने सवारीसाधनहरू सोक्तिम–बेलासेको हिलाम्मे र साँगुरो सडकबाट कष्टपूर्ण रूपमा सञ्चालन भइरहेका छन्।
सडकको दुरावस्थाका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै यात्रु र चालकले सास्ती खेप्नुपरेको स्थानीय रोहित बस्नेत बताउँछन्।
मुख्य सडकका रुपमा प्रयोग हुँदै आएको मेची राजमार्गको इलाममा पर्ने राजदुवाली खण्डमा धेरै समय अघिदेखि पहिरो खसेर अवरुद्ध छ। त्यहाँबाट सवारी साधन चल्न सक्ने अवस्था छैन।
यस्तो अवस्थामा वैकल्पिक सडकहरु पनि बाढी र पहिरोका कारण अवरुद्ध हुँदा यात्रीले निकै सास्ती खेप्नुपरेको निर्मला अधिकारीको भनाइ छ। राजदुवालीको सडकलाई दीर्घकालीन रुपमा चल्ने गरी व्यवस्थित गर्दै वैकल्पिक सडकलाई पनि दुरुस्त राख्नुपर्ने उनको सुझाव छ।
सडकको दुरवस्थाका कारण यात्रु त प्रभावित छन् नै, दैनिक उपभोग्य सामग्री ढुवानी हुन पनि मुस्किल परेको छ। ग्यास, खाद्यान्न लगायत सामग्रीको बजारमा अभाव हुन थालेको स्थानीय कमल श्रेष्ठ बताउँछन्।

























