नयाँ पुस्तालाई नेपाली भाषासँग जोड्ने चुनौती, ‘किताब जात्रा’ मा बहस

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ६, शनिबार ०९:२९

बेलायतमा हुर्किरहेको नेपाली मूलको नयाँ पुस्तालाई मातृभाषा, साहित्य र संस्कृतिसँग कसरी जोडिराख्ने भन्ने विषय लन्डनस्थित नेपाली दूतावासमा आयोजित तेस्रो ‘किताब जात्रा’मा प्रमुखताका साथ उठेको छ। किताब यात्रा फाउन्डेसनको आयोजनामा शुक्रबार भएको कार्यक्रममा बेलायतका पूर्वसांसद, कूटनीतिज्ञ, साहित्यकार, पत्रकार तथा नेपाली समुदायका प्रतिनिधिले डायस्पोरा साहित्यका अवसर र चुनौतीसँगै नयाँ पुस्तामा नेपाली भाषा र पठन संस्कृतिको अवस्थाबारे चर्चा गरे।

बेलायतको लेबर पार्टीका नेता तथा पूर्वसांसद वीरेन्द्र शर्माले नयाँ पुस्तालाई भाषा, संस्कृति र इतिहाससँग जोडिराख्नुपर्ने बताए। बेलायती संसदको अल-पार्टी पार्लियामेन्ट्री ग्रुप अन नेपालका पूर्वअध्यक्षसमेत रहेका शर्माले बेलायतको प्रमुख शक्ति नै विविधता भएको उल्लेख गर्दै नेपाली डायस्पोराले बेलायती समाजमा पुर्‍याएको योगदानको प्रशंसा गरे।

Advertisement

‘भाषा हराए धेरै कुरा हराउँछ। बेलायतमा हुर्किरहेका युवाहरूलाई आफ्नो मातृभाषा सिक्न प्रोत्साहन गर्नुपर्छ,’ शर्माले भने। नेपाल र बेलायतबीचको द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन नेपाली डायस्पोराको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले विश्व शान्ति र समृद्धिका लागि नेपाल, भारत र बेलायतबीच सहकार्य आवश्यक रहेको बताए।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष कुल आचार्यले ‘किताब जात्रा’ले डायस्पोरा र नयाँ पुस्तालाई जोड्ने काम गरेको बताए। नेपालबाहिर यस्ता कार्यक्रम आयोजना गर्न स्रोत र साधन आवश्यक पर्ने भएकाले सबै पक्षको सहयोग आवश्यक रहेको उनको भनाइ थियो। बीबीसी नेपाली सेवाका पूर्वडेस्क एडिटर सुमन खरेलले विदेशमा हुर्किरहेको पुस्तालाई नेपाली किताब र पठन संस्कृतितर्फ आकर्षित गर्नु अहिलेको प्रमुख चुनौती भएको बताए।

टेलिभिजन पत्रकार टीकाराम यात्रीले पुस्तकलाई लिखित सामग्रीमा मात्रै सीमित गरेर हेर्न नहुने बताए। मानिसका अनुभूति र जीवनभोगाइ पनि पुस्तककै रूप भएको उल्लेख गर्दै उनले प्रवासमा नेपाली भाषा, संस्कृति र सम्पदा जोगाउन भइरहेका प्रयासको प्रशंसा गरे। सेन्ट जोन्स वुड क्यापिटलका अध्यक्ष तरुण गुलाटीले भाषाले मानिसलाई जोड्ने भएकाले नेपालीले आफ्नो भाषा र संस्कृतिप्रति गर्व गर्नुपर्ने बताए।

नेपाली दूतावासका द्वितीय सचिव संजोग राईले किताब र साहित्य विचार आदानप्रदान गर्ने तथा सीमापारिका मानिसलाई जोड्ने माध्यम भएको बताए। दूतावासले यस्ता रचनात्मक पहललाई निरन्तर सहयोग गर्ने उनको भनाइ थियो। किताब जात्राका निर्देशक ऋषिराम अधिकारीले लेखक र पाठकलाई जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार वि.सं. २०८३ भित्र साउदी अरेबिया, कतार तथा युरोपका अन्य मुलुकमा समेत किताब जात्रा आयोजना गर्ने योजना छ।

डायस्पोरा साहित्य मूलधारमै कि बाहिर?

कार्यक्रममा ‘डायस्पोरा नेपाली साहित्य : अवसर र चुनौती’ विषयमा प्यानल छलफलसमेत भयो। पत्रकार तथा लेखक निर्भिक जङ्ग रायमाझीले सहजीकरण गरेको छलफलमा डायस्पोरामा सिर्जना भइरहेको साहित्य, त्यसको पहिचान र नेपाली साहित्यको मूलधारसँगको सम्बन्धबारे बहस भएको थियो। लेखक तथा साहित्यकार डा. रवीन्द्र समीरले डायस्पोरामा धेरै नेपाली लेखकले उत्कृष्ट साहित्य सिर्जना गरिरहे पनि मूलधारका सञ्चारमाध्यम र साहित्यिक क्षेत्रमा अपेक्षित स्थान नपाएको बताए।

प्रवासी लेखकले आफूले भोगेका अनुभव र परिवेशलाई साहित्यमा अभिलेख गरिरहेको उल्लेख गर्दै उनले यसले नेपाली भाषा र साहित्यलाई थप समृद्ध बनाएको बताए। ‘नेपाली साहित्यमा डायस्पोराको स्थान अग्रणी छ,’ उनले भने।

बेलायतमा रहेकी कवि तथा उपन्यासकार डा. सङ्गीता स्वेच्छाले डायस्पोरिक साहित्य तीव्र रूपमा विकसित भइरहेको बताइन्। डायस्पोराको जीवन तरल र बहुआयामिक हुने भन्दै उनले प्रवासी लेखक एकैपटक जन्मभूमि र आफू बसिरहेको समाज दुवैसँग जोडिने अनुभवबाट गुज्रिने बताइन्। ‘हामी दुवै संसारका हौँ जस्तो पनि लाग्छ र दुवै संसारबाट केही हदसम्म बाहिर परेजस्तो पनि हुन्छ,’ उनले भनिन्। नेपाली डायस्पोरिक साहित्यलाई अझै पनि मूलधारभन्दा बाहिरको साहित्यका रूपमा हेर्ने प्रवृत्ति रहेको उनको भनाइ थियो।

यात्रीले डायस्पोरिक साहित्य जन्मभूमिबाट टाढा हुँदाको अवस्था, स्मृति, सपना, खानपान, संस्कृति र जीवनअनुभवसँग जोडिने बताए। जन्मथलोको सम्झनाले प्रवासी साहित्य सिर्जनामा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

उनले नयाँ पुस्तामा मातृभाषा तथा नेपाली भाषामा शुद्ध रूपमा लेख्न र पढ्न सक्ने क्षमता कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गरे। कतिपय विद्यालयमा विद्यार्थीलाई नेपाली बोल्नसमेत निरुत्साहित वा दण्डित गरिने अवस्था रहेको उल्लेख गर्दै उनले मातृभाषा संरक्षणमा ध्यान दिनुपर्ने बताए।

पाँच जनालाई सम्मान

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका पाँच जनालाई सम्मान गरिएको थियो। व्यवसायी तथा समाजसेवी रविन्द्रजंग लामिछानेलाई ‘किताब जात्रा डायस्पोरा सामाजिक पहल सम्मान’, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष कुल आचार्यलाई ‘डायस्पोरा उद्यमशीलता सम्मान’ र लेक्स लिम्बूलाई ‘युथ आइकन सम्मान’ प्रदान गरियो।

त्यस्तै, बेलायतमा कार्यरत कवि तथा उपन्यासकार डा. सङ्गीता स्वेच्छालाई ‘डायस्पोरा साहित्य सम्मान’ र बीबीसी नेपाली सेवाका पूर्वपत्रकार भगीरथ योगीलाई ‘डायस्पोरा पत्रकारिता अवार्ड’ प्रदान गरिएको थियो।

कार्यक्रममा पासा पुचः गुठी यूकेका अध्यक्ष सुशील प्रजापतिले जनकवि दुर्गालाल श्रेष्ठका साथै आफ्ना कविता वाचन गरे। नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी अध्यक्ष रश्मिता सिंह दर्लामीले ‘आई एम ए नर्स’ तथा उत्सव निर्देशक ऋषिराम अधिकारीले ‘बा’ शीर्षकको कविता वाचन गरे।कलाकार दीपक थापाले गोपाल योञ्जनको चर्चित देशभक्तिपूर्ण गीत ‘देशले रगत मागे’ प्रस्तुत गरे। कार्यक्रमस्थलमा नेपाली साहित्य र समाजसँग सम्बन्धित प्रकाशनका साथै नेपाली हस्तकला तथा घरेलु उद्योगका उत्पादनसमेत प्रदर्शनमा राखिएका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×