
काठमाडौं । पछिल्लो चार महिनामा देशभर पाँच हजारभन्दा बढी विपद्का घटना भएका छन्। ती घटनामा २५० जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता र एक हजार ६०७ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ देखि भदौ ५ गतेसम्म देशभर पाँच हजार १४ वटा विपद्का घटना भएका हुन्। विपद्बाट उक्त अवधिमा ६ हजार २७२ परिवार प्रभावित भएका छन्।
प्राधिकरणका अनुसार सबैभन्दा बढी आगलागीका घटना भएका छन्। यस अवधिमा आगलागीका एक हजार १३६ घटना भएका छन्। त्यस्तै, पहिरोका एक हजार ११, सर्पदंशका एक हजार १०, हावाहुरीका ४८०, बाढीका २७३, भारी वर्षाका ३२० र चट्याङका २४५ घटना भएका छन्।
भदौ ५ गते बिहान ११ बजेसम्म अद्यावधिक विवरणअनुसार जनावरको आक्रमणका २७२, लेक लाग्ने ५९, वन डढेलोका १९१, हिमपहिरोका दुई, असिनाका चार र भूकम्पका चार घटना भएका छन्। यसैगरी डुंगा पल्टिने र विस्फोटनका एक–एक घटना भएका छन्।
भदौ ४ गतेदेखि ५ गते बिहान ८ बजेसम्म देशका विभिन्न भागमा ३३ वटा विपद्का घटना भएका छन्। ती घटनामा एक जनाको मृत्यु, एक जना बेपत्ता र २३ जना घाइते भएका छन्। विपद्बाट १४५ जना प्रभावित भएका छन्। प्राधिकरणका अनुसार पछिल्लो अवधिमा विपद्का कारण अनुमानित नौ लाख ७२ हजार रुपैयाँ बराबरको क्षति भएको छ। दुई स्थानमा सडकसमेत अवरुद्ध भएको प्राधिकरणले जनाएको छ।

























