
दाङ । काठमाडौंमा अध्ययनरत २२ वर्षीय छोरा वसन्त कालाथोकीको हत्या भएको खबर सुनेपछि दाङमा उनकी ३८ वर्षीया आमा बिना कालाथोकीको पनि मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१७, जनप्रिय टोलकी बिनाको शनिबार दिउँसो करिब ३ बजे घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार छोराको हत्या भएको खबर सुनेपछि उनी विक्षिप्त बनेकी थिइन्।
काठमाडौं महानगरपालिका–१०, शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा बसेर अध्ययन गरिरहेका वसन्तको शुक्रबार कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। गम्भीर घाइते अवस्थामा उनलाई मीनभवनस्थित निजामती कर्मचारी अस्पताल पुर्याइए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
वसन्त रोजगारीका लागि फ्रान्स जाने तयारीमा काठमाडौंमा बसेर भाषा अध्ययन गरिरहेका थिए। उनी करिब पाँच–छ महिनादेखि होस्टलमा बसेर फ्रान्स जाने तयारीमा थिए। वसन्तको हत्या आरोपमा सोही होस्टलमा बस्दै आएका बारा, कलैया–३ का २० वर्षीय प्रमित पटेल र १८ वर्षीय शेखर यादव प्रहरी नियन्त्रणमा छन्। प्रहरीले प्रमितलाई शनिबार मकवानपुरबाट पक्राउ गरेको हो भने शेखरलाई काठमाडौंमै नियन्त्रणमा लिइएको जनाएको छ।
उता, बिनाको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीको शवगृहमा राखिएको छ। उनका श्रीमान् रोमहर्ष कालाथोकी वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेकाले उनी नेपाल फर्किएपछि मात्र पोस्टमार्टम गरिने वडाध्यक्ष रामलौटन चौधरीले बताए।
बिनाको मृत्युपछि उनका ११ वर्षीय कान्छा छोरा शिशिरलाई हजुरबुबाले आफ्नो घरमा लगेर राखेका छन्। एकातिर वैदेशिक रोजगारीमा रहेका बाबु, अर्कातिर जेठो छोराको हत्या र त्यसको खबर सुनेपछि आमाको समेत मृत्यु भएपछि परिवारमा ठूलो वियोग परेको छ। घटनापछि परिवार, आफन्त र स्थानीय शोकमा डुबेका छन्। वसन्तको हत्या घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



















