
काठमाडौं । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले बालिका तथा किशोरीमाथि बलात्कार, यौन दुर्व्यवहार, हिंसा तथा अनलाइन हिंसाका घटना बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ। बाराको सिमरामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै सिजपले घटनाको निष्पक्ष र शीघ्र छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेको छ।
सिजपले पीडित परिवारलाई निःशुल्क कानुनी सहायता, स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ। साथै, बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय बाल अधिकार आयोग गठन, विद्यालय तथा स्थानीय तहमा बालअधिकार र कानुनी साक्षरता कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।
सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई पीडित बालबालिकाको पहिचान खुल्ने तस्बिर, नाम तथा व्यक्तिगत विवरण सार्वजनिक नगर्न आग्रह गर्दै सिजपले घटनाका विभत्स दृश्यसमेत प्रसार नगर्न अपिल गरेको छ। अध्यक्ष तिलोत्तम पौडेल र महासचिव राजु घिमिरेद्वारा जारी विज्ञप्तिमा बालबालिकामाथि हुने हिंसा अन्त्य गर्नु राज्य र समाजको साझा जिम्मेवारी भएको उल्लेख छ।



















