
बारा । हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको आइतबार हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। गत मंगलबारदेखि कलैया प्रादेशिक अस्पतालको शवगृहमा राखिएको गरिमाको शव शनिबार राति सरकारसँग सहमति भएपछि परिवारले आइतबार बुझेका हुन्।
कलैया उपमहानगरपालिका–१४ बघवनस्थित पसाहा खोलामा गरिएको अन्त्येष्टिमा गरिमाका बाबु मनोज चौधरीले दागबत्ती दिएका थिए। गरिमाको हत्याविरुद्ध बुधबारदेखि सुरु भएको सडक आन्दोलन सहमतिपछि रोकिएको थियो। सरकारसँग सहमति गर्न शनिबार काठमाडौं पुगेका बाबुआमा मनोज र मानमती चौधरी आइतबार मध्यान्ह घर फर्किएपछि प्रहरीले अस्पतालबाट शव बुझाउने प्रक्रिया अघि बढाएको थियो।
गरिमाको अन्तिम संस्कारमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवरसहित सुरक्षा अधिकारीहरू सहभागी भएका थिए।

























