
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
थापाले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय फेरि उठेको भन्दै सरकारले अब ढिलाइ गर्न नहुने बताएका हुन्।
उनले २०७४ सालदेखि लगभग हरेक वर्ष लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आएको उल्लेख गर्दै राजनीतिक दलहरूले सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि सरकारमा पुगेपछि त्यसलाई कार्यान्वयन गर्न नसकेको बताएका छन्।
‘अब त एक दशक बित्न लागिसक्यो,’ थापाले भनेका छन्, ‘२०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोग (लाल आयोग) ले बुझाएको प्रतिवेदन आजसम्म सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य पूर्ण रूपमा बाहिर आउन सकेको छैन र पीडितहरू न्याय पाउनबाट वञ्चित छन्।’
विगतका सरकारबाट पनि प्रतिवेदन सार्वजनिक गर्ने काम हुन नसकेको स्वीकार गर्दै थापाले विगतको कमजोरीलाई अहिले पनि प्रतिवेदन सार्वजनिक नगर्ने कारण बनाउन नहुने बताएका छन्।
उनले यसपटक लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषय प्रतिबद्धतामा मात्र सीमित हुन नहुने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई थप विलम्ब नगरी प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका छन्।
‘सत्य जान्ने अधिकार नागरिकको हो, न्याय पाउने अधिकार पीडितको हो,’ थापाले भनेका छन्।

























