बालिका हत्या प्रकरण : आरोपीको बयान हुँदा भिडिओ खिचेको आरोपमा प्रहरी हवल्दार पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ८, सोमबार १५:५७

काठमाडौं। बाराकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका नाबालिगको भिडिओ खिचेको आरोपमा चार जना प्रहरीमाथि विभागीय कारबाही सुरु भएको छ।

प्रहरीले नाबालिगको भिडिओ खिचेको आरोप लागेका प्रहरी हवल्दार कुमार विकलाई पक्राउ गरेको छ। ‘हिरासतमा रहेका नाबालिगको कानुनविपरीत भिडिओ खिचेको देखिएपछि हवल्दारलाई पक्राउ गरी फौजदारी कसुरमा अनुसन्धान थालेका छौँ,’ बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले भने।
कुँवरका अनुसार उक्त प्रकरणमा चार जना प्रहरी कर्मचारी संलग्न रहेको खुलेको छ। भिडिओमा देखिएका अन्य तीन जना प्रहरीमाथि अनुसन्धान थालिएको उल्लेख गर्दै उनले दोषी देखिए पक्राउ गरी फौजदारी अपराधमा कारबाही थाल्ने बताए ।

Advertisement

बालिकाको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका १४ वर्षीय ती किशोरको बयानसहितको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडिओमा हतकडी लगाएका बालकलाई घटनाबारे बयान लिइएको देखिन्छ। उक्त भिडिओ सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थालेको हो।

बारा जितपुरसिमरा उपमहानगरपालिका-१ भक्तिनगरकी बालिका गरिमा चौधरीको २ भदौमा शव भेटिएको थियो। ३१ साउनदेखि उनी बेपत्ता थिइन्। शवको मुचुल्का उठाउँदा बलात्कारपछि हत्या भएको खुलेको थियो। प्रारम्भिक अनुसन्धानमा बालिकालाई चकलेट दिएर बलात्कार गरी हत्या गरेको ती किशोरले बयान दिएको प्रहरीले जनाएको छ।

प्रहरीले जितपुर सिमरा-१ का २४ वर्षीय प्रोग्रेस चौधरीलाई २ भदौमै पक्राउ गरेको थियो। उनीसँगै अर्का नाबालिग किशोरलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ। यससँगै गरिमा प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×