१३ वर्षीया बालिकालाई यौन धन्दामा लगाउने होटेल सञ्चालकसहित दुई पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ९, मंगलबार ०८:५२
१३ वर्षीया बालिकालाई यौन धन्दामा लगाउने होटेल सञ्चालकसहित दुई पक्राउ

झापा । झापाको दमकमा एक बालिकालाई यौन धन्दामा लगाएको आरोप होटेल सञ्चालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

१३ वर्षीया एक बालिकालाई ललाइफकाइ होटेलमा पुर्‍याएर यौन धन्दामा लगाएको आरोपमा होटेल सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको झापा प्रहरीका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका–९ घर भई दमक बस्ने ‘जुनु’ भनिने पार्वती ऋषिदेव र दमक–८ मा मनकामना होटेल एन्ड लज सञ्चालन गर्दै आएका ५५ वर्षीय गणेशप्रसाद अधिकारी रहेका छन् ।

Advertisement

गत साउन ३१ गते घरबाटै हराएकी ती बालिकाको परिवारले खोजतलासका लागि इलाका प्रहरी कार्यालय दमकमा हुलियासहित निवेदन दिएका थिए । प्रहरीले खोजी गर्ने क्रममा भदौ ४ गते बालिकालाई फेला पारेको थियो ।

फेला परेकी बालिकासँग सोधपुछ गर्दा पार्वती ऋषिदेवले उनलाई ललाइफकाइ गणेशप्रसाद अधिकारीको होटेलमा पुर्‍याएको र त्यहाँ उनलाई जबरजस्ती यौन धन्दामा संलग्न गराएको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई झापा जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार कसुरमा म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×