महरको अभिव्यक्तिप्रति आपत्ति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ९, मंगलबार १८:०१

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाका बारेमा प्रतिनिधिसभामा सांसद ऐन महरले दिएको अभिव्यक्ति तथ्यसँग मेल नखाने भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आपत्ति जनाएको छ । संगठनले महरलाई सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरेको छ ।

भदौ ७ गते अपराह्न ४ः४२ बजे महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ९५६ नम्बरको महाकाली यातायातको बस अत्तरियामा दुर्घटनामा परेको थियो । दुर्घटनामा बझाङको मस्टा घर भई अत्तरिया बस्दै आएकी ५३ वर्षीया सिन्की बोहराको मृत्यु भएको थियो ।

Advertisement

सांसद महरले भदौ ८ गते प्रतिनिधिसभा बैठकमा बसले महिलालाई ठक्कर दिएपछि अगाडि बढेको र पुनः पछाडि फर्किएर किचेको आशयको अभिव्यक्ति दिएको संगठनको भनाइ छ । तर, इलाका प्रहरी कार्यालय मालाखेतीमा सुरक्षित सीसीटीभी फुटेज तथा प्रारम्भिक तथ्यले उक्त विवरण पुष्टि नगर्ने संगठनले जनाएको छ ।

संगठनका अनुसार सीसीटीभी फुटेजमा बस विस्तारै अगाडि बढिरहेका बेला पानी बिक्री गर्ने महिला यात्रुसँग कारोबार गर्ने क्रममा लडेको र बसको पछाडिको पांग्रामा परेर मृत्यु भएको देखिन्छ । संगठनले सीसीटीभी फुटेज, प्रहरी अनुसन्धान, प्रत्यक्षदर्शीको बयानलगायत प्रमाणका आधारमा घटनाको वास्तविकता सार्वजनिक गर्न माग गरेको छ ।

साथै, मृतकको परिवारलाई कानुनबमोजिम क्षतिपूर्ति र न्याय दिनुपर्ने तथा निर्दोष चालकलाई अन्याय हुन नहुने जनाएको छ । संगठनका अध्यक्ष भीम ज्वाला राईले माग सम्बोधन नभए देशभरका यातायात श्रमिक शान्तिपूर्ण रूपमा प्रतिवादमा उत्रने चेतावनी दिएका छन् ।

संगठनले सांसद महरको अभिव्यक्ति तथ्यहीन र यातायात श्रमिकको मानमर्दन गर्ने खालको भएको भन्दै सार्वजनिक क्षमायाचनासहितका माग अघि सारेको छ । ती मागमा घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने, महरले क्षमायाचना गर्नुपर्ने र मृतक बोहराको परिवारलाई क्षतिपूर्ति तथा न्याय सुनिश्चित गर्नुपर्ने रहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×