मनसुनयता सरदरभन्दा कम वर्षा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ९, मंगलबार १८:४६
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 

काठमाडौं । यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागअन्तर्गत हावा पानी विश्लेषण शाखाका इन्जार्ज सुजन सुवेदीले असार ५ देखि भदौ १ गतेसम्म देशभर मापन गरिएको कुल वर्षा ७४६ दशमलव ८ मिलिमिटर रहेको जानकारी दिए । त्यस अवधिमा सामान्यतया ८३० दशमलव ६ मिलिमिटर वर्षा हुने गरेकोमा यस वर्ष सरदरको ८९ दशमलव ९ प्रतिशत मात्र वर्षा भएको उनले जानकारी दिए।

Advertisement

यसअनुसार मनसुनको उक्त अवधिमा सरदरभन्दा ८३ दशमलव ८ मिलिमिटर कम वर्षा भएको देखिन्छ । सुवेदीले मनसुन नेपालको सबैभन्दा संवेदनशील मौसम प्रणाली भएको उल्लेख गर्दै वार्षिक वर्षाको करिब ८० प्रतिशत हिस्सा मनसुन अवधिमै हुने जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभागले यस मनसुन अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको थियो । विभागका प्रक्षेपणअनुसार यस वर्ष कर्णाली प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशका पूर्वी भू–भाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ ।

सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भाग, मधेस प्रदेशका पश्चिमी भू–भाग तथा कोशी प्रदेशका मध्य भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ ।

कर्णाली र कोशी प्रदेशका उत्तरी भू–भागमा भने सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको बताइएको छ । बाँकी अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागको आँकलन छ । अधिकतम तापक्रमतर्फ सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न भू–भागमा सरदरभन्दा बढी तापक्रम रहने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।

न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको विभागको निष्कर्ष छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका केही क्षेत्रमा न्यूनतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×