
धनगढी । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सरकारको नीति तथा निर्देशनअनुसार काम गर्न र सीमा सुरक्षामा कुनै किसिमको कमजोरी हुन नदिन मातहतका निकायलाई निर्देशन दिएका छन्।
सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण धनगढीमा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदी, नौवटै जिल्लाका कार्यालय प्रमुख, कैलाली र कञ्चनपुरका सीमा सुरक्षा गुल्म, बोर्डर आउट पोस्ट (बीओपी) तथा बेसका प्रमुखलाई सरकारको नीति र निर्देशनअनुसार जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका हुन्।
पौडेलले नागरिकबाट गुनासो नआउने गरी दत्तचित्त भएर काम गर्न आग्रह गर्दै आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई प्राथमिकतामा राख्न निर्देशन दिए। सीमा क्षेत्रबाट हुने अपराध, अवैध चोरी–पैठारी तथा निकासी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उनले नेपाल सरकारको भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अक्षरशः पालना गर्न आग्रह गरे।
पछिल्लो समय युवाहरू लागूऔषधको कुलतमा फस्दै गएको र यसले अन्य अपराधसमेत बढाउन सक्ने भन्दै महानिरीक्षक पौडेलले लागूऔषधको ओसारपसार नियन्त्रणमा सशक्त रूपमा परिचालन हुन निर्देशन दिए। सीमा सुरक्षामा सशस्त्र प्रहरी अग्रपंक्तिमा खटिएको उल्लेख गर्दै उनले सीमा सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाउन क्रमशः सीमालाई डिजिटल प्रणालीमा लैजाने तयारी भइरहेको जानकारी दिए।
ड्युटीमा खटिँदा इमानदारिता, सक्रियता र व्यावसायिकता प्रदर्शन गर्न कर्मचारीलाई निर्देशन दिँदै पौडेलले नीति, नियम, कानुन तथा आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीमाथि कडा कारबाही गरिने चेतावनी दिए। यस्तै, मौसमी विपद्बाट हुन सक्ने धनजनको क्षति न्यूनीकरणका लागि आम नागरिकसँग २४सै घण्टा समन्वय र सम्पर्कमा रहन तथा विपद्का बेला आवश्यक सामग्रीसहित तत्काल परिचालन हुन उनले निर्देशन दिए।
महानिरीक्षक पौडेलले कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीसँग जिल्लाको वर्तमान सुरक्षा अवस्था र सुरक्षा व्यवस्थापनबारे पनि छलफल गरेका थिए। यसअघि उनले मंगलबार बिहान कैलालीको गौरीफन्टा नाकाको निरीक्षण गरी सीमा क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिएका थिए। निरीक्षणका क्रममा उनले सीमा सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै सीमासम्बन्धी समस्या, अपराध नियन्त्रण र नागरिक सुरक्षाका विषयमा गम्भीर भएर काम भइरहेको बताए।
यसअघि सोमबार पौडेलले सुदूरपश्चिम प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल वैद्यनाथ वाहिनी मुख्यालय अत्तरिया तथा कैलालीका सीमावर्ती क्षेत्रमा रहेका विभिन्न सीमा सुरक्षा गुल्म र नाकाको अनुगमन तथा निरीक्षण गरेका थिए। उनले सीमा नाकामा कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिसँग अन्तरक्रिया गरी सीमा सुरक्षाको अवस्थाबारे जानकारी लिएको सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण धनगढीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिए।



















