प्रधानमन्त्रीले बुधबार संसदमा सांसदका प्रश्नको जवाफ दिने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ९, मंगलबार २१:४९

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले बुधबार प्रतिनिधिसभामा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिने भएका छन्। प्रधानमन्त्री बनेपछि उनले पहिलोपटक प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार सांसदका प्रश्नको प्रत्यक्ष जवाफ दिन लागेका हुन्।

प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रश्नोत्तरसम्बन्धी व्यवस्था छ। उक्त व्यवस्थाअनुसार प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो साता प्रतिनिधिसभामा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने हुन्छ। सांसदले लिखित रूपमा प्रश्न सचिवालयमा दर्ता गराउने र प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर जवाफ दिने व्यवस्था नियमावलीमा छ।

Advertisement

तर, प्रधानमन्त्री शाहले पद सम्हालेयता जेठ, असार र साउनमा नियमावलीअनुसार सांसदका प्रश्नको जवाफ दिएका थिएनन्। यसैबीच, भदौ १ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डीपी अर्यालले प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका थिए। सभामुखले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १० गतेको बैठकमा हुने जानकारीसमेत गराएका थिए।

प्रधानमन्त्रीलाई प्रश्न सोध्न ११ सांसदले प्रश्न दर्ता गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कृष्णहरि बुढाथोकी, समीक्षा बाँस्कोटा र अमरेशकुमार सिंह, नेपाली कांग्रेसका वासना थापा र गीता गुरुङ तथा नेकपा (एमाले)का ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न दर्ता गराएका छन्। यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का वर्षमान पुन र प्रमेश हमाल, श्रम संस्कृति पार्टीका हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की खुस्बु ओलीले पनि प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन्।

यसअघि जेठ १७ गते प्रधानमन्त्री शाह सांसदका प्रश्नको जवाफ दिन भन्दै अचानक संसद्मा पुगेका थिए। त्यस क्रममा नेपाल–भारत सीमा सम्बन्धमा उनले दिएको अभिव्यक्ति विवादमा परेको थियो। त्यसपछि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीलाई उक्त अभिव्यक्ति सच्याउन र नियमावलीअनुसार संसद्मा उपस्थित भएर जवाफ दिन माग गर्दै आएका थिए।

सभामुख अर्यालले पनि पटक–पटक प्रधानमन्त्री शाहलाई भेटेर संसद्मा उपस्थित हुन आग्रह गर्दै आएका थिए। प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्ने विषयमा सुरुआती चरणमा सभामुखको भूमिकामाथि समेत आलोचना भएको थियो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुखले विपक्षी दलहरूको नाडी छाम्नेदेखि सरकारले चाहेअनुसार सदन सञ्चालन गर्न खोजेको आरोप लगाएका थिए।

एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले भने पछिल्लो समय सभामुखले आफ्नो पदीय दायित्वअनुसार काम गर्न थालेको आभास भएको बताए। उनका अनुसार विपक्षी दलहरूले प्रधानमन्त्रीलाई भेटघाटका लागि नभई नियमावलीअनुसार संसद्मा उपस्थित भएर जवाफ दिन माग गरेका थिए।

रास्वपाका महामन्त्री तथा सांसद विपिन आचार्यले पनि सभामुखले सत्तापक्षलाई समेत संसद्प्रति जवाफदेही बनाउनुपर्ने बताए। सभामुख निष्पक्ष र निर्भीक भएर विधिअनुसार काम गर्नुपर्ने उनको भनाइ छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×