कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार ०६:४०
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज (बुधबार) कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशीसहित बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले उल्लेख गरेको छ ।

Advertisement

तीन प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातसमेत हुन सक्ने जनाइएको छ । त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

बुधबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा वर्षा हुने सम्भावना छ । त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ । वर्षाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×