
सुनसरी । कोशी प्रदेशमा पछिल्लो तीन महिनामा २०१ वटा लैङ्गिक हिंसाका घटना अभिलेख भएका छन्। तीमध्ये सुनसरीमा मात्रै ४७ घटना अभिलेख भएका छन्। तीमध्ये अधिकांश घटना महिलाले आफ्नै घरभित्र र वैवाहिक सम्बन्धमा भोगेको हिंसासँग सम्बन्धित छन्।
महिला पुनर्स्थापना केन्द्र (ओरेक), सुनसरीले अप्रिलदेखि जुन २०२६ सम्म अभिलेख गरेका ४७ घटनामध्ये ४१ वटा अर्थात् ८७.२३ प्रतिशत घरेलु हिंसाका छन्। तीमध्ये ३९ घटनामा श्रीमान् नै आरोपित रहेको तथ्यांकले देखाएको छ।
सुनसरीमा अभिलेख भएका लैङ्गिक हिंसाका घटनामा महिलाका लागि अपरिचित व्यक्ति नभई आफ्नै परिवार र विशेषगरी श्रीमानबाट हुने हिंसा प्रमुख देखिएको छ। ओरेकको अभिलेखअनुसार घरेलु हिंसाका ४१ घटनामध्ये २३ वटामा महिलामाथि शारीरिक आक्रमण गरी घाउचोट पुर्याइएको छ। अन्य घटनामा मानसिक, भावनात्मक, आर्थिक तथा नियन्त्रणजन्य हिंसा भएको पाइएको छ।
सुनसरीमा अभिलेख भएका ४७ घटनामध्ये तीनवटा सामाजिक हिंसा र दुईवटा यौनजन्य दुर्व्यवहारका छन्। आरोपितको सम्बन्ध हेर्दा ३९ घटनामा श्रीमान्, तीनवटामा परिवारका अन्य सदस्य, दुई–दुईवटामा छिमेकी र समुदायका सदस्य तथा एउटामा साथी रहेको पाइएको छ।
ओरेक, सुनसरीकी जिल्ला कार्यक्रम अधिकृत चण्डिका मोहराका अनुसार जिल्लाको तथ्याङ्कले घरेलु हिंसा व्यक्तिगत विवादमा मात्र सीमित नभई पितृसत्तात्मक सोच, लैङ्गिक शक्ति असमानता, आर्थिक निर्भरता र सामाजिक विभेदसँग जोडिएको संरचनागत समस्या रहेको देखाउँछ।
हिंसाबाट प्रभावित महिलाको पेसागत अवस्थाले पनि आर्थिक निर्भरता र हिंसाबीचको सम्बन्ध देखाएको छ। अभिलेख भएका ४७ महिलामध्ये २८ जना अर्थात् ५९.६ प्रतिशत घरायसी काममा संलग्न छन्। कृषि तथा पशुपालन र दैनिक ज्यालादारीमा आठ–आठ जना, विद्यार्थी दुई जना र अन्य पेसामा एक जना रहेको अभिलेखमा उल्लेख छ।
आफ्नै आम्दानीको आधार नहुँदा हिंसापछि सम्बन्धबाट अलग हुने, कानुनी उपचार खोज्ने वा सुरक्षित स्थानमा जाने निर्णय गर्न महिलालाई थप कठिन हुने अधिकारकर्मीहरूको भनाइ छ।
उमेर समूहअनुसार १८ देखि २५ वर्षका महिला सबैभन्दा बढी प्रभावित भएका छन्। यो उमेर समूहका २६ जना अर्थात् ५५.३२ प्रतिशत महिला हिंसाबाट प्रभावित भएको अभिलेखमा उल्लेख छ। त्यस्तै, २६ देखि ३५ वर्षका छ जना, ४६ देखि ५५ वर्षका आठ जना, १८ वर्षभन्दा कम उमेरका चार जना र ५६ वर्षभन्दा माथिका तीन जना महिला हिंसाबाट प्रभावित भएका छन्।
विवाह, सन्तान जन्माउने, परिवार सञ्चालन तथा आर्थिक रूपमा स्थापित हुने चरणमा रहेका युवा महिलामाथिको हिंसाले तत्कालीन शारीरिक तथा मानसिक असरका साथै शिक्षा, रोजगारी, आयआर्जन र सामाजिक सहभागितामा दीर्घकालीन प्रभाव पार्न सक्ने सरोकारवालाहरू बताउँछन्।
जातीय पृष्ठभूमिका आधारमा हेर्दा तराईका दलित समुदायका महिला सबैभन्दा बढी प्रभावित देखिएका छन्। अभिलेख भएका घटनामध्ये २३ वटा अर्थात् ४८.९ प्रतिशत तराई दलित समुदायका महिलासँग सम्बन्धित छन्।
त्यस्तै, मधेसी र मुस्लिम समुदायका सात–सात जना, तराई जनजातिका पाँच जना, पहाडी जनजातिका तीन जना तथा पहाड दलित र तराई ब्राह्मण–क्षेत्री समुदायका एक–एक जना महिला हिंसाबाट प्रभावित भएका छन्।
तथ्यांकले सबै समुदायमा लैङ्गिक हिंसा रहेको देखाए पनि सामाजिक तथा आर्थिक रूपमा सीमान्तकृत महिलाले हिंसासँगै न्यायमा पहुँचका थप अवरोध सामना गर्नुपर्ने अवस्था रहेको देखाएको छ।
ओरेकका अनुसार सार्वजनिक रूपमा अभिलेख भएका ४७ घटना हिंसाको वास्तविक अवस्थाको पूर्ण तस्वीर भने होइन। घरेलु हिंसालाई ‘घरको कुरा’ वा ‘पारिवारिक विवाद’का रूपमा लिने प्रवृत्ति, परिवारको इज्जत जोगाउने दबाब, आर्थिक निर्भरता, सामाजिक लाञ्छना तथा कानुनी प्रक्रियाको जटिलताका कारण धेरै घटना बाहिर आउन नसकेको संस्थाको भनाइ छ।
यसकारण अभिलेखमा आएका घटनाभन्दा वास्तविक हिंसाको संख्या अझै ठूलो हुन सक्ने अधिकारकर्मीहरूको अनुमान छ।
घरेलु हिंसा -कसूर र सजाय) ऐन, २०६६ ले घरेलु हिंसालाई अपराधका रूपमा परिभाषित गरेको छ। तर कानुनी व्यवस्था भए पनि पीडित महिलाले सहज रूपमा न्याय पाउने अवस्था अझै सुनिश्चित हुन नसकेको पछिल्लो तथ्यांकले देखाएको छ।
सुनसरीमा अभिलेख भएका लैंगिक हिंसाका घटनामध्ये झण्डै ८७ प्रतिशत घरेलु हिंसाका हुनु र ३९ घटनामा श्रीमान् आरोपित हुनुले कोशी प्रदेशमा महिला सुरक्षाको बहसलाई प्रहरी, अदालत र उपचार सेवामा मात्र सीमित गर्न नहुने देखाएको छ।



















