
विराटनगर । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा जुट्न विभिन्न राजनीतिक दलका युवा नेताहरूले सबैलाई आह्वान गरेका छन् ।
उनीहरुले विपद्को सामना गर्न सबैलाई एकजुट हुन आह्वान गरेका हुन् । उनीहरूले विपद्को घडीमा राजनीतिक मतभेदभन्दा माथि उठेर नागरिकको जीवन रक्षा, बेपत्ता भएकाको खोजी, घाइतेको उपचार तथा प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन राज्यका सबै संयन्त्र र राजनीतिक दल परिचालित हुनुपर्ने बताएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले देश अहिले ठूलो संकटबाट गुज्रिरहेको भन्दै प्राकृतिक विपद्मा परेका नागरिकको दुःख र पीडामा कोशी प्रदेशवासी साथमा रहेको बताएका छन् । उनले प्रभावित क्षेत्रमा प्रदेश र संघीय सरकारबाट भइरहेको उद्धार तथा राहत कार्यप्रति ऐक्यबद्धता जनाउँदै देश दुखेको बेला सबै एकजुट भएर विपद्को सामना गर्नुपर्नेमा जोड दिए ।
नेकपाका युवा नेता आचार्यले मानवका हिसाबबाट सबै एकजुट हुँदै विपद्को सामना गर्नुपर्ने बताए । ‘एकतामै बल हुन्छ । देश दुखेको बेला एकजुट हुन जरुरी छ । मिलेर विपद्को सामना गरौं,’ उनले भने । आचार्यले सबैलाई एकताबद्ध भएर प्राकृतिक प्रकोपविरुद्ध जुट्न सार्वजनिक रूपमै अपिल गरेका छन् ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य पर्शुराम बस्नेतले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राज्यका सबै जनशक्ति परिचालन गरी उद्धार र राहतलाई तीव्र बनाउनुपर्नेमा जोड दिएका छन् । उनले बेपत्ता सुरक्षाकर्मी, सर्वसाधारण तथा पर्यटकको खोजी र उद्धारलाई प्राथमिकतामा राख्नुपर्ने तथा घाइतेलाई तत्काल उपचारको व्यवस्था गर्नुपर्ने बताए ।
सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै सबैले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । विपद्को सामना गर्न सबै राजनीतिक दल, भ्रातृ संगठन, संघसंस्था, नागरिक समाज तथा समाजका अगुवालाई स्वयंसेवकका रूपमा परिचालित हुन आग्रह गर्दै एमालेका युवा नेता बस्नेतले प्रभावित नागरिकको उद्धार एवं राहतमा सबैले आफ्नो क्षमताअनुसार र आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।
नेपाली कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईंले राष्ट्रिय विपद्को समयमा कांग्रेसका विभिन्न तह र तप्कामा रहेका नेता कार्यकर्तालाई उद्धार, राहत तथा आफ्नो क्षेत्रबाट सम्भव हुने सबै प्रकारका सहयोगमा जुट्न आग्रह गरेका छन् । चापागाईंले सरकारलाई पनि विपद्लाई राष्ट्रिय शोकका रूपमा लिएर घाइतेको शीघ्र उपचार, प्रभावितलाई राहत तथा हराइरहेका नागरिकको खोजी कार्यलाई द्रुत गतिमा अघि बढाउन आग्रह गरेका छन् ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङका सचिव दिवस नेपालले विपद्को समयमा राजनीतिक स्वार्थभन्दा माथि उठेर मानवताको पक्षमा उभिनुपर्ने बताएका छन् । बाढीबाट नेपालका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको र नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गर्दै उनले विपद् व्यवस्थापनमा खटिएका सबै निकायसँग नागरिक समाजले हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् ।
विपद्को समयमा सबै पक्ष मानवका हिसाबले सहयोगमा जुट्नुपर्ने नेपालको भनाइ छ । ‘जहाँबाट जे सकिन्छ, त्यहीँबाट सहयोग गर्नुपर्छ । प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्नेदेखि अन्य आवश्यक सहयोगका सबै सम्भावित माध्यम प्रयोग गर्न सबैलाई हार्दिक अनुरोध गर्दछु । महासंकटको सबै मिलेर सामना गर्नुपर्छ,’ उनले भने ।
प्रभावित क्षेत्रमा स्वास्थ्यसम्बन्धी थप समस्या आउन सक्ने भएकाले त्यसतर्फ पनि समयमै ध्यान दिनुपर्ने युवा नेता नेपाल बताउँछन् । बाढीपछि विभिन्न रोगव्याधिको जोखिम बढ्न सक्ने भन्दै उनले स्वच्छ पानी, स्वच्छ खाना, सुरक्षित आवासलगायतका आधारभूत आवश्यकताको व्यवस्थापनमा सबै पक्षले ध्यान दिनुपर्ने उल्लेख गरे ।
विपद्को समयमा राजनीति छाडेर नागरिकको जीवन र सुरक्षालाई प्राथमिकता दिनुपर्ने युवा नेताहरुको साझा आह्वान छ । उद्धार र राहतमा सरकारको प्रयास मात्र पर्याप्त नहुने भन्दै उनीहरूले राजनीतिक दल, नागरिक समाज, संघसंस्था र आम नागरिकको सामूहिक पहल आवश्यक रहेको बताए ।
भोटेकोशी बाढीले निम्त्याएको संकटका बीच विभिन्न दलका युवा नेताहरुले बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावितको उद्धार, राहत वितरण र पुनर्स्थापनालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन् । सम्भावित थप जोखिम रोक्न राज्यका सबै संयन्त्र परिचालन गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भावका साथ महासंकटको सामना गर्नुपर्नेमा उनीहरूको जोड छ ।

























