
धनकुटा । कोशी प्रदेशका पाँच जिल्लामा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र कुपोषणको अवस्था गम्भीर देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको परीक्षणमा सुनसरी, मोरङ, खोटाङ, उदयपुर र झापामा बालबालिकामा शीघ्र कुपोषणको दर तुलनात्मक रूपमा उच्च पाइएको हो ।
निर्देशनालयका अनुसार सुनसरीमा परीक्षण गरिएका १० हजार ३८१ बालबालिकामध्ये १३ प्रतिशतमा शीघ्र कुपोषण देखिएको छ । कुपोषणको दर उच्च रहेका जिल्लामध्ये मोरङ दोस्रो स्थानमा छ। त्यहाँ परीक्षण गरिएका १६ हजार ७८९ बालबालिकामध्ये ९ दशमलव ९ प्रतिशतमा कुपोषण पाइएको छ ।
त्यस्तै, खोटाङमा ७ दशमलव २९ प्रतिशत, उदयपुरमा ६ दशमलव ८८ प्रतिशत र झापामा ६ दशमलव ३६ प्रतिशत बालबालिकामा शीघ्र कुपोषण देखिएको छ । खोटाङमा ६ हजार ४६, उदयपुरमा ७ हजार ९१२ र झापामा २७ हजार ६१४ बालबालिकाको कुपोषण परीक्षण गरिएको थियो ।
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार कोशी प्रदेशका अन्य जिल्लामा पनि पाँच वर्षमुनिका बालबालिकामा शीघ्र कुपोषण देखिएको छ । संखुवासभामा ५ दशमलव ८९ प्रतिशत, धनकुटामा ५ दशमलव ७६ प्रतिशत, तेह्रथुममा ५ दशमलव ६३ प्रतिशत, ताप्लेजुङमा ४ दशमलव ६७ प्रतिशत र ओखलढुंगामा ४ दशमलव ५८ प्रतिशत बालबालिकामा कुपोषण पाइएको छ ।
त्यस्तै, पाँचथरमा ४ दशमलव ३३ प्रतिशत, इलाममा ३ दशमलव २६ प्रतिशत र भोजपुरमा ३ दशमलव १४ प्रतिशत बालबालिकामा शीघ्र कुपोषण देखिएको छ । निर्देशनालयले स्थानीय तहसँगको सहकार्यमा कोशी प्रदेशका १४ जिल्लाका १३७ स्थानीय तहमध्ये १०८ स्थानीय तहमा कुपोषण परीक्षण कार्यक्रम सञ्चालन गरेको थियो ।
कार्यक्रमअन्तर्गत जन्मेदेखि पाँच वर्ष उमेर समूहका ९९ हजार २१ जना बालबालिकाको कुपोषण परीक्षण गरिएको निर्देशनालयले जनाएको छ । परीक्षणपछि जिल्लागत तथा स्थानीय तहगत रूपमा बाल कुपोषणको अवस्था पहिचान गरिएको छ । अब उच्च दर देखिएका क्षेत्रलाई लक्षित गरेर कुपोषण न्यूनीकरणका कार्यक्रम अघि बढाउने निर्देशनालयको तयारी छ ।
निर्देशनालयका निमित्त प्रमुख सागर प्रसाईंले कुपोषणको दर उच्च देखिएका जिल्ला तथा स्थानीय तहमा विशेष योजना बनाएर काम गर्ने बताए ।
निर्देशनालयले अब स्वास्थ्य मन्त्रालय तथा प्रदेश योजना आयोगसँग छलफल गरेर परीक्षणबाट प्राप्त तथ्यांकका आधारमा कार्यक्रम तथा योजना तयार गर्ने जनाएको छ ।

























