सर्वदलीय बैठक: उद्धारदेखि पुनर्निर्माणसम्म एकजुट हुने प्रतिबद्धता

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ११, बिहीबार १२:३५

काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति सर्वदलीय बैठकले गहिरो दुःख व्यक्त गर्दै उद्धार, राहत र पुनर्निर्माणमा एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बिहीबार बिहान सिंहदरबारमा बसेको बैठकले बाढी प्रभावित नागरिकको उद्धार तथा राहतलाई राजनीतिक स्वार्थबाट मुक्त राख्ने र सबै दलले सरकारलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको हो । बैठकपछि जारी संयुक्त वक्तव्यमा विपद्का बेला दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर मानवीय स्वयंसेवकका रूपमा परिचालन गर्न आह्वान गरिएको छ ।

Advertisement

त्यस्तै, विपद् व्यवस्थापनका लागि संकलन हुने आर्थिक सहयोगलाई सरकारी एकद्वार प्रणालीमार्फत परिचालन गर्न र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष वा सरकारले तोकेको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न आग्रह गरिएको छ । सर्वदलीय बैठकले सामाजिक सञ्जालमा भ्रामक तथा अतिरञ्जित सूचना सम्प्रेषण नगर्न आग्रह गर्दै आधिकारिक निकायबाट प्रमाणित सूचना मात्र सार्वजनिक गर्न नागरिक तथा सञ्चारमाध्यमलाई अनुरोध गरेको छ ।

बैठकले नेपाल र चीनको तिब्बत क्षेत्रमा रहेका जोखिमपूर्ण हिमतालको वैज्ञानिक अध्ययन तथा नक्साङ्कन तत्काल अघि बढाउनुपर्नेमा जोड दिएको छ । साथै, चीनसँग सीमापार पूर्वसूचना प्रणाली तथा वास्तविक समयको सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउन संयुक्त वैज्ञानिक तथा प्राविधिक संयन्त्र गठनका लागि पहल गर्न सरकारलाई आग्रह गरिएको छ ।

वक्तव्यमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई उद्धार तथा राहतमा प्राथमिकता दिनुपर्ने, क्षतिग्रस्त संरचनाको सुरक्षित र उत्थानशील पुनर्निर्माण तत्काल सुरु गर्नुपर्ने तथा विपद्को समयमा कालोबजारी, कृत्रिम अभाव र राहत दुरुपयोग गर्नेविरुद्ध शून्य सहनशीलताको नीति अपनाउनुपर्ने उल्लेख छ ।

त्यसैगरी, जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षति र नोक्सानीको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउँदै जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन सरकारलाई आग्रह गरिएको छ ।

विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, जोखिम न्यूनीकरण र राष्ट्रिय विपद् नीतिमा सुधारका लागि सर्वदलीय संसदीय समिति गठन गर्न दलहरू सहमत भएका छन् । यस संयन्त्रले विपद् पूर्वतयारीदेखि पुनर्निर्माणसम्म दीर्घकालीन नीतिगत समन्वय र अनुगमन गर्ने बताइएको छ ।

संयुक्त वक्तव्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी तथा स्वयंसेवकले उद्धारमा पुयाएको योगदानको उच्च प्रशंसा गर्दै राष्ट्रिय संकटलाई एकताबद्ध प्रयासमार्फत पुनर्निर्माण र उत्थानशीलताको अवसरमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

वक्तव्यमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका ध्रुव राई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका चन्दन सिंहले हस्ताक्षर गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×