
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढी र त्यसबाट भएको क्षतिबारे मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आकस्मिक बैठक सुरु भएको छ। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बैठक सुरु भएको हो।
चीनको तिब्बततर्फबाट भोटेकोसी नदीमा ठूलो बाढी नेपाल प्रवेश गरेपछि रसुवाका स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको छ। बाढीले टिमुरे बजारका धेरै घर बगाएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। इलाका प्रहरी कार्यालयमा कार्यरत १५ प्रहरीमध्ये आठ जना मात्र सम्पर्कमा आएको र बाँकीको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको जनाइएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार भदौ १० गते बिहान करिब ९ बजे तिब्बततर्फबाट टिमुरे नाका हुँदै ठूलो बाढी नेपाल प्रवेश गरेको हो। बाढी वर्षाका कारण नभई आकस्मिक रूपमा आएकाले तिब्बतमा हिमताल विस्फोट भएको हुनसक्ने विभागको प्रारम्भिक अनुमान छ। बाढीको वास्तविक कारण पत्ता लगाउन विभागले चिनियाँ अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ।
बाढी पूर्वानुमान महाशाखाले भोटेकोसी नदीको बहाव अचानक बढेकाले अर्को सूचना जारी नभएसम्म त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
यसैबीच, सरकारले रसुवा र नुवाकोटका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा विपद् व्यवस्थापन निकायलाई निर्देशन दिएको छ। उद्धार तथा राहतका लागि आवश्यक तयारी अवस्थामा रहनसमेत निर्देशन दिइएको छ।
जोखिमयुक्त क्षेत्रका बासिन्दालाई नदी किनार, पहिरोको जोखिम भएका स्थानमा नजान र अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ। साथै, अफवाहको पछि नलागी स्थानीय प्रशासन, सुरक्षा निकाय तथा आधिकारिक निकायबाट जारी सूचना र चेतावनीमा मात्र विश्वास गर्न अनुरोध गरिएको छ।



















