
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको ठूलो बाढी त्रिशूली नदी हुँदै धादिङको गल्छी क्षेत्रसम्म पुगेपछि नदी आसपासका बस्तीमा जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बाढी गल्छी आसपास पुगेको र आगामी केही घण्टामा मुग्लिन क्षेत्र पार गर्ने अनुमान गरेको जनाएको छ।
बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सावधानी अपनाउन आग्रह गरेको छ। पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ सडक आसपासका बस्ती र बजार क्षेत्रमा समेत बाढीको जोखिम बढ्न सक्ने भएकाले सुरक्षित स्थानमा सर्न अनुरोध गरिएको छ।
महाशाखाले नदी किनार तथा तल्लो भूभागमा रहेका नागरिकलाई जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ। बाढीको बहाव अझै तलतर्फ बढिरहेको भन्दै त्रिशूली नदी आसपासका क्षेत्रमा आगामी केही घण्टा विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

























