
काठमाडौं । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा बुधबार बिहान आएको बाढीपछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनपछि प्रभावित क्षेत्रमा राज्यका विभिन्न संयन्त्र परिचालन गरिएको हो।
सरकारले बाढी प्रभावित तथा जोखिमयुक्त तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ। बाढीबाट थप प्रभावित हुनसक्ने क्षेत्रमा रहेका नागरिकलाई समेत सुरक्षित स्थानमा सर्न निरन्तर सूचना प्रवाह भइरहेको जनाइएको छ।
बाढीका कारण जोखिम बढेपछि पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न तथा नगराउन सरकारले आग्रह गरेको छ। प्रधानमन्त्री शाहको निर्देशनलगत्तै सम्बन्धित निकायले आफ्ना संयन्त्र परिचालन गरी बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्य अघि बढाएका छन्। जिल्लास्थित विपद् व्यवस्थापन संयन्त्रले सक्रियता बढाएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र जिल्ला प्रशासन कार्यालयले उद्धार तथा खोजी कार्यलाई तीव्रता दिएका छन्।
नेपाली सेनाले पनि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य अघि बढाएको छ। सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुईवटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइएको छ। निजी क्षेत्रका हेलिकप्टरलाई समेत उद्धार तथा खोजीका लागि तयारी अवस्थामा राखिएको जनाइएको छ।
यसैबीच, सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ। प्रधानमन्त्री शाहले बाढी तथा विपद्को अवस्थाबारे छलफल गर्न बुधबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकसमेत बोलाएका छन्।

























