
काठमाडौं । रसुवासँगको सीमा क्षेत्रबाट आएको भीषण बाढीले नुवाकोटका विभिन्न तटीय क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको छ। बाढीका कारण बेत्रावती, त्रिशूली, ढुङ्गे र देवीघाटलगायतका बजार क्षेत्र प्रभावित भएका छन्।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार रसुवाको सीमाक्षेत्रबाटै बाढीको बहाव तीव्र रूपमा बढ्दै आएको हो। बाढीको बहाव बजार क्षेत्रभित्रै प्रवेश गर्दा तटीय क्षेत्रमा रहेका घर तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको उनले बताए।
प्रजिअ रेग्मीका अनुसार बेत्रावती बजारदेखि देवीघाटसम्मका तटीय क्षेत्रमा बाढीले क्षति पुर्याएको खबर आएको छ। विशेषगरी त्रिशूली बजार, ढुङ्गे, बेत्रावती र देवीघाट क्षेत्रमा भौतिक संरचनामा क्षति पुगेको सुरक्षाकर्मीले रिपोर्टिङ गरेका छन्।
हालसम्म मानवीय क्षतिको भने आधिकारिक पुष्टि भएको छैन। ‘मानवीय क्षतिको बारेमा अहिलेसम्म केही सुन्नमा आएको छैन। तर बाढीको भयावह अवस्था हेर्दा क्षति भएको हुनसक्ने अनुमान गर्न सकिन्छ,’ रेग्मीले भने, ‘अहिले नै यकिन गरेर भन्न सक्ने अवस्था छैन। कसैले ग्यारेन्टीका साथ त्यस्तो खबर पठाइसकेको अवस्था पनि छैन।’
बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले निगरानी बढाएका छन् भने क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। बाढीले बजार क्षेत्रका घर तथा अन्य भौतिक संरचनामा कति क्षति पुर्याएको हो भन्ने यकिन विवरण आउन बाँकी छ। प्रशासनले त्रिशूली नदीको तटीय क्षेत्रमा रहेका बासिन्दालाई उच्च सतर्कता अपनाउन र जोखिमको अवस्था हेरी सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।

























