
काठमाडौं । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले उद्धार, खोजी तथा राहतका कामलाई तीव्र बनाउन अपिल गरेका छन् ।
राष्ट्रपति पौडेलले बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतमा जुट्न सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षा निकायसहित आम नागरिकलाई आग्रह गरेका छन् । रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीबाट भएको धनजनको क्षतिको खबरले आफू अत्यन्त दुःखी भएको उनले बताएका छन् ।
राष्ट्रपतिले विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा लैजान तथा राहत वितरणलाई प्रभावकारी बनाउन सम्बन्धित सबै निकायबीच समन्वय आवश्यक रहेको बताएका छन् ।
यसैबीच, प्रधानमन्त्री शाहले पनि विपत्तिको सामना गर्न सबै पक्ष एकजुट भएर अघि बढ्न आग्रह गरेका छन् । रसुवामा आएको बाढीको अवस्थाका बारेमा छलफल गर्न उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका थिए ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा नेपाली सेनाका उपरथी अनुमजंग थापाले बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा खोजी कार्यका बारेमा जानकारी गराएका थिए ।
बैठकमा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले विपद्को समयमा सरकारले देखाएको तदारुकताप्रति धन्यवाद दिँदै उद्धार र राहतमा कुनै कमी हुन नदिन सरकारलाई आग्रह गरेका थिए ।
प्रधानमन्त्री शाहले विपद्को यस कठिन समयमा सबैलाई आआफ्नो स्थानबाट प्रभावित नागरिकको उद्धार, खोजी तथा राहत कार्यमा सक्रिय हुन आग्रह गरेका छन् । उनले राज्यका सबै संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्दै प्रभावितको जीवनरक्षा र तत्काल राहतलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन् ।

























