
काठमाडौं । प्रतिनिधिसभाको आज (बुधबार)को बैठकमा गृहमन्त्री सुधन गुरुङले भोटेकोशीमा आएको बाढीपछि सरकारले गरेका खोज, उद्धार तथा राहतका कामबारे सदनलाई जानकारी गराउने भएका छन् ।
संसद् सचिवालयका अनुसार केही बेरमा सुरु हुने बैठकमा गृहमन्त्रीले बाढी प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरेका उद्धार तथा राहतसम्बन्धी गतिविधिका बारेमा जानकारी दिनेछन् । बाढीको पछिल्लो अवस्था र प्रभावित नागरिकको उद्धार तथा राहतमा भएका प्रयासका बारेमा सांसदहरूलाई जानकारी गराउन गृहमन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको हो ।
यसैबीच, प्रतिनिधिसभामा हुने भनिएको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने नहुने भएको छ । बैठकको कार्यसूचीसमेत परिवर्तन गरिएको संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभा बैठकमा आकस्मिक समय राख्ने, गृहमन्त्रीको जवाफ लिने तथा यसअघि निर्धारण गरिएको केही कार्यसूची हटाउने तयारी गरिएको छ । भोटेकोशी बाढीपछि उत्पन्न अवस्थालाई प्राथमिकता दिँदै बैठकको कार्यक्रम परिवर्तन गर्न लागिएको हो । बैठक संक्षिप्त मात्रै बस्ने छ ।

























