फोटो क्याप्सन : बाढीमा परेर घाइते भएकाको उद्धार गर्दै नेपाली सेना ।काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण ज्यान गुमाएकाहरुको शव फेला पर्न थालेको छ । पछिल्लो विवरण अनुसार नुवाकोट र धादिङमा हालसम्म १२ जनाको शव फेला परेको छ ।
बुधबार बिहान चीनतर्फबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बाढीले बगाएका तथा बेपत्ता भएका व्यक्तिहरूको खोजीका क्रममा नुवाकोट र धादिङका विभिन्न स्थानमा शव फेला परेका हुन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले मृतकको शव फेला पर्न थालेको जानकारी दिए । फेला परेका शवको पहिचान तथा व्यवस्थापनको काम भइरहेको उनले बताए ।
बाढीमा नेपाल प्रहरीका २६ जना कर्मचारी बेपत्ता रहेको र सशस्त्र प्रहरीका ७ जना कर्मचारीसमेत बेपत्ता रहेको सम्बन्धित सुरक्षा निकायले जनाएका छन् । बाढीबाट प्रभावित क्षेत्रमा घाइते तथा जोखिममा परेकाहरूको उद्धारसँगै बेपत्ताहरूको खोजी कार्य तीव्र पारिएको छ ।
नदी किनार तथा आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।

























