
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी घाइते भएकाहरू उपचारका लागि अस्पताल पुग्न थालेका छन् । अस्पताल पुगेकाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।
रसुवा अस्पतालमा मात्रै बाढीमा परी घाइते भएका २४ जना हालसम्म उपचारका लागि पुगेका छन् । उपचाररत घाइतेमध्ये एक जनाको मृत्यु भएको छ भने गम्भीर अवस्थाका ६ जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको छ ।
रसुवा अस्पतालका सूचना अधिकारी नरेन्द्र थापाका अनुसार बाढी प्रभावित क्षेत्रबाट घाइतेहरू अस्पताल आउने क्रम जारी छ । उनले अस्पतालमा उपचारका लागि आएका २४ जनामध्ये एक जनाको मृत्यु भएको पुष्टि गरे ।
थापाका अनुसार केही घाइतेलाई सामान्य चोटपटक लागेको छ । गम्भीर अवस्थाका ६ जनालाई भने थप उपचार आवश्यक भएकाले अन्य अस्पतालमा रेफर गरिएको छ । सामान्य अवस्थाका केही बिरामीलाई पनि आवश्यक उपचारपछि थप उपचारका लागि अन्यत्र पठाइएको उनले बताए ।
‘उताबाट केसहरू आउने क्रम जारी छ । अस्पतालले सक्ने जति उपचार गरिरहेको छ । थप उपचार आवश्यक पर्ने बिरामीलाई ट्रान्सफर तथा रेफर गरिरहेका छौँ,’ थापाले भने ।
बाढी प्रभावित क्षेत्रबाट घाइतेहरूको उद्धारका लागि हेलिकोप्टरसमेत प्रयोग भइरहेको अस्पतालले जनाएको छ । थप घाइते आउन सक्ने भएकाले अस्पताललाई तयारी अवस्थामा राखिएको छ ।
अस्पतालमा स्वास्थ्यकर्मीका साथै जनस्वास्थ्य कार्यालय, स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, नेपाली सेना र सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय परिचालन भएका छन् । उद्धार तथा उपचार व्यवस्थापनका लागि उपलब्ध जनशक्ति र स्रोतसाधनलाई एकीकृत रूपमा परिचालन गरिएको अस्पतालले जनाएको छ ।
यसैबीच, गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइँकुण्ड गएको बससमेत सम्पर्कविहीन भएको छ । बुधबार बिहान पालुङटार नगरपालिका–४ र ५ का तीर्थयात्री बोकेर गोसाइँकुण्ड गएको ग २ ख ११५२ नम्बरको बस सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
डीएसपी राजकुमार श्रेष्ठका अनुसार बसमा ३८ जना यात्रु सवार थिए । तीमध्ये चार जना बसबाट हाम फालेर सम्पर्कमा आएका छन् भने ३४ जना अझै सम्पर्कविहीन छन् ।
‘चार जना बसबाट हाम फालेका रहेछन्, सम्पर्कमा आए । बाँकी सम्पर्कमा छैनन्,’ डीएसपी श्रेष्ठले भने । बससँगै गएको दुईवटा माइक्रो भने सम्पर्कमा रहेको प्रहरीले जनाएको छ । ती माइक्रोमा २६ जना यात्रु सवार थिए ।
बाढीका कारण रसुवा तथा आसपासका क्षेत्रमा सडक तथा यातायातसमेत प्रभावित भएकाले सम्पर्कविहीन यात्रुको खोजी तथा उद्धारमा कठिनाइ भइरहेको छ । प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीय तहका टोली उद्धार तथा खोजीमा परिचालन भएका छन् ।



















