बाढीपछि ४४ सैनिकसहित ८५ सुरक्षाकर्मी र बैंकका २६ कर्मचारी सम्पर्कविहीन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार १८:४४

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । बाढीका कारण नेपाली सेनाका ४४ जनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् ।

सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार बाढीपछि ४४ जना नेपाली सेना सम्पर्कमा आएका छैनन् । उनीहरू लाङटाङ राष्ट्रिय निकुञ्ज तथा विभिन्न जलविद्युत् आयोजनाको सुरक्षामा खटिएका थिए ।

Advertisement

त्यस्तै, नेपाल प्रहरीका ३२ जना र सशस्त्र प्रहरीका ९ जना सुरक्षाकर्मी पनि सम्पर्कविहीन रहेको बताइएको छ । बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्कसमेत अवरुद्ध भएकाले उनीहरूको अवस्थाका बारेमा तत्काल जानकारी लिन कठिन भएको छ ।

बाढीले भोटेकोशी र त्रिशूली आसपासका बैंकका शाखा कार्यालयमा समेत ठूलो क्षति पुर्‍याएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार विभिन्न आठ वाणिज्य बैंकका २६ कर्मचारीसँग सम्पर्क हुन सकेको छैन ।

एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा रहेका बैंकका शाखा कार्यालयमा बाढीले क्षति पुर्‍याएको छ । केही शाखा पूर्णरूपमा क्षतिग्रस्त अवस्थामा पुगेका छन् । सम्पर्कविहीन कर्मचारी पनि प्रभावित क्षेत्रमै कार्यरत रहेको जानकारी उनले दिए ।

बाढीबाट प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक र माछापुच्छ्रे बैंकका शाखा कार्यालय प्रभावित भएका छन् । बाढीबाट क्षति पुगेका बैंक शाखाको संख्या नौ पुगे पनि आठ शाखामा कार्यरत २६ कर्मचारीसँग भने अझै सम्पर्क हुन नसकेको बैंकर्स एसोसिएसनले जनाएको छ ।

शर्माका अनुसार अहिले बैंकहरूको प्राथमिकता भौतिक क्षतिको विवरण संकलनभन्दा कर्मचारीहरूको अवस्था पत्ता लगाउनु रहेको छ । कर्मचारीहरू सुरक्षित रहेको यकिन भएपछि मात्र शाखा कार्यालय तथा अन्य भौतिक सम्पत्तिमा भएको क्षतिको विस्तृत विवरण संकलन गरिनेछ ।

बाढी प्रभावित क्षेत्रमा पुग्नसमेत कठिन रहेकाले उद्धार तथा खोजी कार्यमा समस्या भइरहेको छ । बाढीले फोन तथा इन्टरनेटका टावरमा समेत क्षति पुर्‍याएकाले प्रभावित क्षेत्रमा रहेका सुरक्षाकर्मी, बैंक कर्मचारी तथा अन्य व्यक्तिसँग सम्पर्क स्थापित गर्न थप कठिनाइ भएको छ ।

यसैबीच, सोही क्षेत्रमा रहेका विकास बैंकका शाखाहरूमा भने क्षति नभएको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले जनाएको छ । भोटेकोशीमा आएको बाढीका कारण नदी आसपासका बजार, सुरक्षा चौकी, जलविद्युत् आयोजना, बैंक तथा अन्य संरचनामा क्षति पुगेको छ । प्रभावित क्षेत्रमा बेपत्ता तथा सम्पर्कविहीन सुरक्षाकर्मी र कर्मचारीको खोजी तथा अवस्थाका बारेमा जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×