
विराटनगर । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएपछि ‘भोटेकोशी’ नदीबारे धेरैमा अन्योल देखिएको छ । विशेषगरी पूर्वी नेपालका कतिपय बासिन्दाले सिन्धुपाल्चोकको भोटेकोशीमा बाढी आएको र त्यसको असर कोशी नदीसम्म पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको पाइन्छ ।
तर रसुवामा बाढी आएको भोटेकोशी र सिन्धुपाल्चोकमा बग्ने भोटेकोशी फरक नदी हुन्। यी दुई नदीको उद्गम, बहाव क्षेत्र र अन्ततः मिसिने नदी प्रणालीसमेत फरक छन् ।
वातावरण क्षेत्रमा कार्यरत विनोद न्यौपानेका अनुसार सिन्धुपाल्चोक र रसुवामा ‘भोटेकोशी’ नामका दुईवटा छुट्टाछुट्टै नदी छन् । दुवै आ-आफ्नो क्षेत्रका ठूला नदी प्रणालीका महत्त्वपूर्ण सहायक नदी हुन् ।
सिन्धुपाल्चोकको भोटेकोशीको स्रोत चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको झाङझाङ्बु हिमनदी हो । तिब्बतमा पोइकु नामले चिनिने यो नदी नेपाल प्रवेश गरेपछि भोटेकोशीका रूपमा बग्छ । सिन्धुपाल्चोक हुँदै बग्ने यो नदी अन्ततः सुनकोशीमा मिसिन्छ र सप्तकोशी नदी प्रणालीको हिस्सा बन्छ ।
त्यसको विपरीत रसुवाको भोटेकोशी भने तिब्बतबाट आउने केरुङ खोला र ल्हेन्दे खोला रसुवागढी क्षेत्रमा मिसिएपछि नेपालमा भोटेकोशी नामले चिनिन्छ । यही नदीमा आएको बाढीले रसुवा र त्यसपछि नुवाकोटलगायत क्षेत्रमा ठूलो क्षति पुर्याएको हो ।
रसुवाको भोटेकोशी नदी पछि त्रिशूली नदीमा मिसिन्छ । त्रिशूली हुँदै यसको पानी नारायणी नदी प्रणालीमा पुग्छ, जुन सप्तगण्डकी नदी प्रणालीअन्तर्गत पर्छ ।
यसकारण रसुवाको भोटेकोशीमा आएको बाढीलाई सिन्धुपाल्चोकको भोटेकोशीसँग जोडेर हेर्नु भौगोलिक रूपमा सही नहुने जानकार बताउँछन् । एउटै नाम भएका भए पनि यी दुई नदी अलग–अलग जलप्रणालीमा पर्छन् ।
नदीको नाम एउटै भएकै कारण बाढीको प्रभाव एउटै क्षेत्रमा पर्ने भन्ने हुँदैन । बाढी तथा नदीजन्य विपद्बारे सही सूचना बुझ्न नदीको उद्गम, बहाव क्षेत्र र कुन नदी प्रणालीमा मिसिन्छ भन्ने भौगोलिक तथ्यलाई समेत ध्यान दिन आवश्यक रहेको न्यौपाने बताउँछन् ।

























