
काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजना तथा विद्युत् संरचनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार सम्पर्कविहीन हुनेमा विदेशी कामदारसमेत रहेका छन्।
प्राधिकरणका अनुसार निर्माणाधीन त्रिशूली–३ बी जलविद्युत् आयोजनाको साइटमा कार्यरत २१ जना कर्मचारी सम्पर्कविहीन छन्। चिलिमे जलविद्युत् कम्पनीको चिलिमे जलविद्युत् केन्द्रको पावर हाउस क्षेत्रमा रहेका ६ जना र आवास क्षेत्र आसपासका एक जना पनि सम्पर्कमा छैनन्। त्यस्तै, चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको चेस्को कम्पनीमा कार्यरत ११ जना पनि त्रिशूली–३ बी आयोजनाको निर्माणस्थलबाट सम्पर्कविहीन भएका छन्।
चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत केही कर्मचारी तथा कामदार सम्पर्कविहीन छन्। त्रिशूली–३ ए जलविद्युत् केन्द्रको पावर हाउसमा मर्मतसम्भारमा संलग्न ४५ जना कर्मचारी तथा कामदार पनि सम्पर्कमा नरहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका त्रिशूली जलविद्युत् केन्द्र र देविघाट जलविद्युत् केन्द्रमा कार्यरत एक–एक जना कर्मचारीसमेत सम्पर्कविहीन छन्। रसुवा वितरण केन्द्रअन्तर्गत चिलिमे पावर हाउसको स्विचयार्डमा कार्यरत एक जना र गोटागन्तीका मिटर रिडरसमेत सम्पर्कमा छैनन्। त्यस्तै, त्रिशूली २२० केभी ३ बी हबमा ठेकेदार कम्पनीमार्फत कार्यरत १६ जना तथा रसुवागढी जलविद्युत् केन्द्रमा विभिन्न ठेकेदार कम्पनीमार्फत मर्मतसम्भार र निर्माण कार्यमा खटिएका ९२ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
बाढीपछि सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोजी र उद्धारका लागि प्राधिकरणले प्रभावित क्षेत्रमा टोली परिचालन गरेको छ। प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठको नेतृत्वमा प्रभावित क्षेत्रको अनुगमनसमेत गरिएको छ।
श्रेष्ठका अनुसार जोखिममा रहेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण र उद्धार गर्न छुट्टै टोलीसमेत परिचालन गरिएको छ। सम्पर्कविहीन रहेका प्रसारण तथा उत्पादन संरचना क्षेत्रमा पुनः सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ। स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी सम्पर्कविहीन कर्मचारी तथा कार्यक्षेत्रमा रहेका व्यक्तिहरूको विवरण संकलन गर्दै खोज तथा उद्धार कार्य जारी राखिएको छ।

























