
विराटनगर । विराटनगरमा भएको ‘प्रथम एलाइट फाइटर्स नकआउट फुटबल प्रतियोगिता’ को उपाधि मोरङ केराबारीको उद्धार सुधार केन्द्रले जितेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा यातायात मजदुर युवा क्लब (टीडब्लुवाइसी) बसपार्कले लागुऔषधविरुद्ध जनचेतना जगाउने उद्देश्यले विराटनगरमा पहिलो पटक फरक शैलीको फुटबल प्रतियोगिता आयोजना गरेको हो । विराटनगरको सहिद रंगशालामा बुधबार राति भएको फाइनल खेलमा केराबारीले विराटनगरको लिबर्टी नेपाललाई २–० गोल अन्तरमा हराउँदै उपाधि जितेको छ ।
६० मिनेटको खेलमा केराबारीका लागि सबिन राईले ४८ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ५८ औँ मिनेटमा साहिल चौहानले गोल थप्दै जित दिलाए ।
प्रतियोगितामा मोरङका ८ वटा टोलीको सहभागिता रहेको थियो । जसमा विराटनगरको जीवन दृष्टि पुनर्स्थापना केन्द्र, क्यान भास पुनर्स्थापना केन्द्र, रिचमण्ड फेलोसिप, लिबर्टी नेपाल, रहेका छन् । यस्तै, बेलबारीको बेलबारी प्लस, केराबारीको उद्धार पुनर्स्थापना केन्द्र, सुन्दरहरैँचास्थित विराट चोकको आश्रय सुधार केन्द्र र उर्लाबारीको जीवन बचाउ पुनर्स्थापना केन्द्रको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेता टोली केराबारीको उद्धार सुधार केन्द्रले ५१ हजार र उपविजेता लिबर्टी नेपालले ३१ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गरे । उनीहरूलाई कोशी प्रदेश सामाजिक विकास मन्त्री गीता तिम्सिना, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल, प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष वसन्तराज अर्याललगायतले पुरस्कार प्रदान गरे ।



















