मृतकको संख्या तीन सय नाघ्यो

Share this
803shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ११, बिहीबार १६:३५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएकामध्ये अहिलेसम्म आठ जिल्लाबाट तीन सय जनाभन्दा बढीको शव फेला परेको छ । खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझ बढ्ने देखिएको छ ।

हालसम्मको विवरण अनुसार चितवनमा सबैभन्दा धेरै १२१ जनाको शव फेला परेको छ । त्यसैगरी पूर्वी नवलपरासीमा ६५, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, नुवाकोटमा १२, पश्चिम नवलपरासीमा १४ र रसुवामा ३ जनाको शव भेटिएको छ ।

Advertisement

बाढीले रसुवासहित त्रिशूली नदी आसपासका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीमा परी ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेका छन् । पछिल्लो विवरणअनुसार सुरक्षाकर्मी तथा पर्यटकसहित सयौँ मानिस सम्पर्कविहीन रहेको जनाइएको छ ।

बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । नदी किनार तथा प्रभावित क्षेत्रमा खोजी कार्यलाई तीव्र पारिएको छ ।

बाढीबाट सडक, पुल, विद्युत् संरचना तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुङ्गे पुल र करिब ४० किलोमिटर सडकमा क्षति पुगेको प्रारम्भिक विवरण छ ।

बेपत्ता भएकाहरूको खोजी जारी रहेकाले थप शव फेला पर्न सक्ने र मानवीय क्षतिको वास्तविक विवरण अझै यकिन हुन बाँकी रहेको सुरक्षा निकायहरुले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×