
सुनसरी । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सुनसरीको बर्जु गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीले एक दिनको तलब तथा भत्ता सहयोग गर्ने भएका छन् ।
बर्जु गाउँपालिकाका अध्यक्ष जीवछ कुमार रायले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीको एक दिनको तलब तथा भत्ताबापतको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् । भदौ १० गते बुधबार रसुवा जिल्लास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत विभिन्न जिल्लामा जनधनको क्षति भएको भन्दै गाउँपालिकाले दुःख व्यक्त गरेको छ ।
गाउँपालिकाले बाढीमा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताहरूको खोजी तथा उद्धार कार्य प्रभावकारी बनाउन र प्रभावितलाई तत्काल उद्धार गरेर राहत वितरण गर्न संघीय सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
बर्जु गाउँपालिकाले विपद्को कठिन परिस्थितिमा प्रभावितहरूको सुरक्षित पुनःस्थापनाका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको जनाएको छ ।


























