भोटेकोशी बाढीमा मृतकको संख्या ५ सय ४७ पुग्यो

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १२, शुक्रबार १६:४९

काठमाडौं । भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या हालसम्म ५ सय ४७ पुगेको छ । नेपाल प्रहरीका अनुसार बुधबारको बाढीका कारण ज्यान गुमाएकामध्ये हालसम्म ५ सय ४७ शव फेला परेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४४, नवलपुरमा १ सय ३४, नवलपरासीमा २८, तनहुँमा २९ र सबैभन्दा बढी २ सय २१ शव चितवनमा भेटिएको छ ।

Advertisement

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि अझै ९ सय ७७ जना सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना छन् । त्यस्तै, रसुवाबाट १ सय ६१, मकवानपुरबाट ६६ र नुवाकोटबाट एक जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ ।

बाढीमा ५ सय १७ जना विदेशी नागरिकसमेत सम्पर्कविहीन छन् । नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक १ सय २७ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । बाढीबाट घाइते हुनेको संख्या ७३ पुगेको छ । घाइतेमध्ये रसुवाका ४३, धादिङका ३ र नुवाकोटका २७ जना रहेका छन् ।

खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल गरी १४ हजार ८ सय २९ सुरक्षाकर्मी परिचालन गरिएको छ । यसमध्ये नेपाल प्रहरीका ४ हजार ४ सय ७३, नेपाली सेनाका ६ हजार ६ सय ९८ र सशस्त्र प्रहरी बल नेपालका ३ हजार ६ सय ५८ जना छन् ।

हालसम्म बाढी प्रभावित क्षेत्रबाट ३ हजार ७ सय ४२ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २५ जना विदेशी नागरिक रहेका छन् । नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरबाट समेत उद्धार तथा राहतका लागि गरी ७८ वटा हवाई उडान भएका छन् ।

बाढी प्रभावित जिल्लामा सरकारले तत्काल राहतका लागि नगदसमेत पठाएको छ । रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने काम जारी छ । हालसम्म १० ट्रक राहत सामग्री पठाइएको छ । सामग्रीमा चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, कम्बललगायत खाद्य तथा गैरखाद्य सामग्री छन् । प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन सञ्चार सेटसमेत पठाइएको छ । हेलिकप्टरबाट चारवटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको छ भने थप २० ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा इन्धनको अवस्थासमेत व्यवस्थापन गरिएको छ । नुवाकोटका भैरवी, सूर्यमती र पञ्चकन्या आयल स्टोरमा ४१ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको छ । यस्तै, नुवाकोटमा ९ हजार लिटर हवाई इन्धनसमेत मौज्दात रहेको प्राधिकरणले जनाएको छ । थप इन्धन आवश्यक परे तत्काल पठाउने व्यवस्था मिलाइएको छ ।

प्राधिकरणका अनुसार सम्पर्कविहीन विदेशी नागरिक, विदेशमा बस्ने नेपाली नागरिक, उपचाररत व्यक्ति तथा हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिको विवरण प्राधिकरणको फेसबुक पेज र वेबसाइटमार्फत हेर्न सकिनेछ । प्राधिकरणले जिल्ला प्रशासन कार्यालय, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र तथा राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त विवरणका आधारमा अद्यावधिक प्रतिवेदन तयार गरेको हो ।

तपाइको प्रतिक्रिया
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
खोटाङमा ट्याक्टर दुर्घटना : बालकको मृत्यु, १९ जना घाइते
बाढीले जलविद्युत् आयोजना तहसनहस, ९३४ कामदार अझै सम्पर्कविहीन
भोटेकोशी बाढीपछि ज्यान गुमाउनेको संख्या साढे पाँच सय नाघ्यो
भोटेकोशी बाढीपछि विराटनगर घर भएकी इन्जिनियर ऋचा निरौला सम्पर्कविहीन
इलामको माईखोलामा एक्कासि लेदोसहितको बाढी आएपछि…
जटिल उद्धारमा आवश्यक परे अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिने सरकारको तयारी
बाढीले देश अस्तव्यस्त, सत्ताका जिम्मेवारहरू भने रात्रिभोजमा
भोटेकोशी बाढीपछि कोशी प्रदेशका १३८ जनाको अवस्था अज्ञात
रसुवामा फेरि गुड्न थाले साना सवारी
रोजगारीका लागि रसुवा पुगेका झापाका १२ जना सम्पर्कविहीन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×