
विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि कोशी प्रदेशका १ सय ३८ जना सम्पर्कविहीन भएका छन् ।
प्रदेश प्रहरी कार्यालय विराटनगरले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार बेपत्तामध्ये १५ जना सम्पर्कमा आएका छन् । सम्पर्कविहीन बनेकाहरुको अवस्था अझैसम्म अज्ञात छ । सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै सोलुखुम्बुका ३९ जना छन् । सोलुखुम्बुका ४१ जना बेपत्ता भएकामा २ जना सम्पर्कमा आएका छन् ।
ओखलढुंगाका २० जना अझै सम्पर्कविहीन छन् । ओखलढुंगाका २१ जना बेपत्ता भएकोमा १ जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ । त्यस्तै, मोरङका १६ जना तथा सुनसरी र उदयपुरका १५–१५ जनाको अवस्था अज्ञात छ । सुनसरीका १७ जना बेपत्ता भएकोमा २ जना र उदयपुरका १८ जना बेपत्ता भएकोमा ३ जना सम्पर्कमा आएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाले बताए ।
उनका अनुसार झापाका १० जना सम्पर्कविहीन छन् । झापाका १२ जना बेपत्ता भएकोमा २ जना सम्पर्कमा आएका छन् । इलामका ७ जना पनि अझै सम्पर्कमा आएका छैनन् । इलामका ९ जना बेपत्ता भएकामा २ जना सम्पर्कमा आएका छन् ।
त्यसैगरी, खोटाङका ८ जना, संखुवासभाका ३ जना, धनकुटाका तथा ताप्लेजुङका २–२ जना र भोजपुरका १ जना अझै सम्पर्कविहीन रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । ताप्लेजुङका बेपत्ता भएका ५ जनामध्ये ३ जना सम्पर्कमा आइसकेका छन् ।
एसएसपी थापाले आफन्त तथा परिवारका सदस्यले प्रहरी र प्रशासनमा विवरण टिपाउने क्रम जारी रहेकाले सम्पर्कविहीन भएकाको संख्या बढ्न सक्ने बताए । उनका अनुसार रोजगारी, व्यापार, पर्यटन, अन्य काम तथा धार्मिक भ्रमणका लागि रसुवा, नुवाकोट, धादिङलगायतका बाढी प्रभावित क्षेत्रमा पुगेकाहरु बाढीपछि परिवारसँग सम्पर्कमा नरहेका हुन् ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका कोशी प्रदेशका नागरिकको खोजी तथा उद्धारका लागि स्थानीय प्रशासन, प्रहरी र अन्य सुरक्षा निकायबीच समन्वय भइरहेको जानकारी उनले दिए । रसुवासहित बाढी प्रभावित क्षेत्रमा खोजी कार्यलाई प्राथमिकतामा राखिएको उनले बताए ।
बाढीपछि आफन्त सम्पर्कविहीन हुँदा परिवारमा चिन्ता बढेको छ । प्रहरीले परिवारका सदस्यसँग सम्पर्क हुन नसकेका व्यक्तिको विवरण तत्काल सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा उपलब्ध गराउन आग्रह गरेको छ । खोजी तथा उद्धारलाई तीव्र बनाइएको र सम्पर्कविहीन नागरिकका बारेमा प्राप्त हुने नयाँ विवरणअनुसार तथ्यांक अद्यावधिक गरिने एसएसपी थापाले बताए ।

























