
विराटनगर । भोटेकोशी क्षेत्रमा आएको अकल्पनीय बाढीपछि अपर त्रिशुली हाइड्रोपावर–१ एचईपी (२१६ मेगावाट)मा कार्यरत इन्जिनियर विराटनगर महानगरपालिका–३ की २४ वर्षीया ऋचा निरौला सम्पर्कविहीन भएकी छन् ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थायी ठेगाना भएकी ऋचाको परिवार हाल विराटनगर–३ मा बसोबास गर्छ । परिवारका अनुसार उनी करिब ५ महिनादेखि रसुवाको उत्तरगया गाउँपालिकामा रहेको हाइड्रोपावरमा काम गर्दै आएकी थिइन् ।
बाढी आएपछि छोरी सम्पर्कविहीन भएको भन्दै उनका बुवा लीलाप्रसाद निरौलाले खोजीका लागि सबै सरकारी तथा गैरसरकारी निकाय, सुरक्षा निकाय, सञ्चारमाध्यम तथा सर्वसाधारणसँग अपिल गरेका छन् । लीलाप्रसादका अनुसार प्रहरीको माध्यमबाट बाढी आएको दिन बुधबार ऋचा बाढी प्रभावित क्षेत्रबाट केहीमाथि जंगलतर्फ गएको जानकारी प्राप्त भएको छ ।
मोबाइल लोकेसन ट्र्याक गर्दा ऋचा उत्तरगया गाउँपालिका–१ स्थित तिरु आधारभूत विद्यालयसम्म पुगेको जानकारी आएको उनले बताए । उक्त विद्यालय बाढी प्रभावित क्षेत्रभन्दा केही माथि रहेको बताइएको छ । तर, त्यो विद्यालय पुगेपछि उनीसँग सम्पर्कविच्छेद भएको बताइएको छ ।
‘प्रहरीको च्यानलबाट एउटा जानकारी आएको छ । एक जना साथीले बाढी आएको दिन बुधबार उनी बाढी आएको क्षेत्रबाट जंगलतर्फ गएको जानकारी दिएका छन् । मोबाइल लोकेसन ट्र्याक गर्दा तिरु आधारभूत विद्यालयसम्म गएको देखिएको जानकारी आएको छ,’ लीलाप्रसादले भने ।
उनका अनुसार ऋचासँग सम्पर्क गर्ने प्रयास गर्दा मोबाइल बन्द रहेको सूचना मात्र आउने गरेको छ । छोरीको अवस्थाका बारेमा यकिन जानकारी नहुँदा परिवार अत्यन्तै तनावमा रहेको उनले बताए ।
ऋचासँगै अपर त्रिशुली हाइड्रोपावरमा कार्यरत अन्य केही इन्जिनियरसमेत बाढीपछि सम्पर्कविहीन रहेको जानकारी परिवारले पाएको छ । ‘छोरीसँगै काम गर्ने अन्य इन्जिनियरहरू पनि सम्पर्कविहीन रहेको जानकारी आएको छ । हामी परिवार पीडामा छौँ,’ लीलाप्रसादले भने ।
परिवारले ऋचाको खोजी तथा अवस्थाका बारेमा जानकारी लिन सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय बासिन्दा, सञ्चारमाध्यम तथा सम्बन्धित सबै पक्षसँग सहयोगका लागि अनुरोध गरेको छ । साथै, खोजीका क्रममा सहयोग पुर्याउने सबैप्रति परिवारले आभार व्यक्त गरेको छ ।

























