
काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा कार्यरत ९३४ जना कामदार तथा कर्मचारी अझै सम्पर्कमा आउन सकेका छैनन् ।
बाढीले निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएपछि उनीहरूको खोजी तथा उद्धारमा कठिनाइ भएको हो । बाढीले जलविद्युत् आयोजनाहरु तहसनहस बनाएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादक संघका अनुसार बाढीबाट १३ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् । तीमध्ये ११ आयोजनामा कार्यरत कर्मचारी तथा कामदार सम्पर्कविहीन छन् । रसुवाका ६ आयोजनामा ७३० जना र नुवाकोटका ५ आयोजनामा २०४ जना सम्पर्कविहीन रहेको तथ्यांक छ ।
रसुवामा सबैभन्दा बढी असर माथिल्लो त्रिशूली–१ आयोजनामा परेको छ । २१६ मेगावाट क्षमताको निर्माणाधीन आयोजनामा कार्यरत ५७६ जनाको अवस्था अझै अज्ञात छ । त्यस्तै, १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाका ९३ जना, २० मेगावाटको लाङटाङ खोलाका ४२ जना, २२ मेगावाटको चिलिमेका ८ जना, ५ मेगावाटको मैलुङ खोलाका ७ जना र १२० मेगावाटको निर्माणाधीन रसुवा–भोटेकोशीका ४ जना सम्पर्कविहीन छन् ।
नुवाकोटमा पनि बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ । निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी आयोजनाका १५८ जना सम्पर्कविहीन छन् । त्यस्तै, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए का ४२ जना, मिडल त्रिशूली गंगाका २ जना, त्रिशूली जलविद्युत् आयोजनाका १ जना र देवीघाट जलविद्युत् आयोजनाका १ जना सम्पर्कविहीन रहेको संघले जनाएको छ ।
यसबीच, माथिल्लो त्रिशूली–१ आयोजनामा रहेका २५४ जनाको भने उद्धार गरिएको छ । तर, बाढीका कारण सडक तथा यातायात सञ्जाल अवरुद्ध भएपछि अन्य स्थानमा रहेका कामदारको उद्धारमा समस्या भइरहेको छ ।
लाङटाङ, माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ ए र चिलिमे जलविद्युत् आयोजनामा फसेकाहरूको तत्काल उद्धार गर्नुपर्ने अवस्था रहेको जनाइएको छ । सडकमार्गबाट पुग्न कठिन भएपछि उद्धारका लागि हेलिकप्टरको आवश्यकता रहेको बताइएको छ ।
बाढीका कारण जलविद्युत् आयोजनाको भौतिक संरचनामा व्यापक क्षति पुगेको छ । सम्पर्कविहीन कामदारको अवस्था पत्ता लगाउन र जोखिममा रहेकाहरूलाई सुरक्षित स्थानमा ल्याउन उद्धार टोली परिचालन भइरहेका छन् ।

























