
विराटनगर । खोटाङमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ । ट्याक्टरमा सवार १९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–२ छेपेखोलास्थित मध्यपहाडी लोकमार्गमा दिउँसो ना ५ त ४५५५ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भएर सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । भोजपुरबाट दिक्तेलतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा दिक्तेल–रुपाकोट–मझुवागढी–५ का १४ वर्षीय दिवश परियारको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।
गम्भीर घाइते परियारको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा दिक्तेल–रुपाकोट–मझुवागढी–५ का ४५ वर्षीय सविन तिरुवा, ९ वर्षीय योनिस विक र ३५ वर्षीया विमला विक गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परेर सोही वडाका ३० वर्षीया लीला श्रेष्ठ, ५७ वर्षीया लुलादेवी विक, ५० वर्षीय राजन विक, ५१ वर्षीय रामबहादुर विक, ३४ वर्षीय सीताराम विक, १८ वर्षीय मन्दिप तिरुवा, २३ वर्षीय नवीन परियार, १२ वर्षीय न्युकेश तिरुवा, ३५ वर्षीय बुडिराम विक, २१ वर्षीया मनिका परियार, ४० वर्षीया बिना परियार, १४ वर्षीया दिपसना परियार, १८ वर्षीया निशा परियार, १७ वर्षीया चन्द्रकला विक, १७ वर्षीय प्रविन विक र १६ वर्षीय युकेश तिरुवा घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गम्भीर घाइतेसहित सबैलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ । ट्याक्टर चालक ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ का २३ वर्षीय रिनिमा शेर्पा प्रहरीको नियन्त्रणमा छन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























