मिथिलाको १३ दिने झुला पर्व समापन

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १३, शनिबार ०८:४८

महोत्तरी । साउन शुक्लपक्षको तृतीयादेखि सुरु भएको मिथिलाको परम्परागत झुलनोत्सव साउन पूर्णिमाको मध्यरातसँगै सम्पन्न भएको छ । १३ दिनसम्म मनाइने यो पर्वमा मिथिला क्षेत्रका मठमन्दिरमा विष्णु–लक्ष्मीका प्रतिमालाई विशेष झुलामा राखेर झुलाउने गरिन्छ ।

पूर्णिमाको मध्यरातपछि झुला हल्लाउने डोरी छिनाएर पर्व समापन गर्ने परम्परा छ । मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ रवीन्द्रदास वैष्णवका अनुसार झुलनोत्सव वैष्णव परम्पराका मठमन्दिरमा मनाइँदै आएको मिथिलाको पुरानो सांस्कृतिक परम्परा हो ।

Advertisement

राम–सीता र कृष्ण–राधाका प्रतिमालाई विष्णु–लक्ष्मीका अवतारका रूपमा मानेर विशेष झुला अर्थात् कलात्मक पिङमा राखेर झुलाउनु पर्वको मुख्य विधि हो । श्रद्धालुहरू झुलाको डोरी समाएर झुला गीत गाउँदै देवदेवीका प्रतिमा झुलाउने गर्छन् । महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ र लक्ष्मीनारायण मन्दिर परिसरमा रहेको झुलाघर झुलनोत्सवका लागि विशेष मानिन्छ । झुलनोत्सवकै लागि निर्माण गरिएको झुलाघरमा मठ तथा मन्दिरबाट विष्णु–लक्ष्मीका प्रतिमा डोलीमा ल्याएर झुलाउने गरिन्छ ।

मटिहानीमा नेपाल र भारतका दर्जनौँ मठमन्दिरबाट प्रतिमा ल्याएर झुला पर्व मनाइएको महन्थ वैष्णवले बताएका छन् । पर्व अवधिभर साधुसन्त तथा श्रद्धालु मठमन्दिर परिसरमा जम्मा भएर उत्सवमा सहभागी हुने गर्छन् ।

जनकपुरधामस्थित जानकी मन्दिर र मटिहानीको झुलाघरमा आयोजना हुने झुलनोत्सव मिथिला क्षेत्रका प्रमुख आकर्षण हुन् । यस अवसरमा आसपासका मठमन्दिरबाट पनि राम–सीता तथा राधा–कृष्णका प्रतिमा मुख्य मठ तथा मन्दिरमा ल्याएर सामूहिक रूपमा उत्सव मनाउने चलन छ ।

झुलनोत्सव धार्मिक आस्थासँग मात्रै जोडिएको पर्व होइन । मल्हार र कजरी गीतका लयमा गाउँदै र नाच्दै मनाइने भएकाले यो मिथिलाको विशिष्ट लोकपरम्परासँग पनि जोडिएको छ । मिथिलामा झुला पर्वको परम्परा विक्रम संवत् १७८७ तिर सन्त सुरकिशोर दासले सुरु गरेको विश्वास रहेको जनकपुरस्थित जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव बताउँछन् ।

यस पर्वको सम्बन्ध मिथिलाको कृषि जीवनसँग पनि जोडिएको छ । साउन शुक्लपक्ष धान रोपाइँ सकिएपछिको समय हो । खेतमा धानको रोपो हरियो भएर लहलहाउन थालेपछि किसानमा आफ्नो मेहनतप्रति खुसी र उत्साह बढ्छ । यही समयमा हल्का वर्षा भइरहोस् भन्ने कामनासमेत गरिन्छ ।

मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका प्राचार्य हेमनारायण लाल कर्णका अनुसार कृषि कर्मपछि आउने यही फुर्सदिलो र उल्लासपूर्ण समयमा मैथिल समुदायले आफ्ना इष्टदेव राम, कृष्ण, सीता र राधासँग खेलेको अनुभूति सँगाल्दै झुला पर्व मनाउँदै आएको हो ।

जनकपुरधामस्थित जानकी मन्दिरबाट करिब पाँच किलोमिटर उत्तरपश्चिममा रहेको मणिपर्वतमा साउन शुक्ल तृतीयाका दिन पूजा गरेर झुला पर्व सुरु गर्ने मिथिला परम्परा छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×