
काठमाडौं । बाढी पहिरोका कारण सम्पर्कविहीन भएका आफ्ना कर्मचारीहरुको खोजी भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बेपत्ता कर्मचारीको खोज, उद्धारमा ढिलाइ गरेको भन्दै आलोचना हुन थालेपछि प्राधिकरणले यस्तो जनाएको हो ।
प्राधिकरणले सम्पर्कविहीन कर्मचारीको खोजी तथा सुरक्षित उद्धारलाई उच्च प्राथमिकतामा राखेर सरकार र सुरक्षा निकायसँगको समन्वयमा निरन्तर प्रयास भइरहेको जनाएको छ । विपद्को कठिन परिस्थितिमा आफ्ना सहकर्मी तथा आफन्त सम्पर्कविहीन हुँदा परिवारजनमा चिन्ता र आक्रोश बढ्नु स्वाभाविक भएको प्राधिकरणले स्वीकार गरेको छ ।
तर, उद्धारमा ढिलाइ गर्ने वा जिम्मेवारीबाट पन्छिने कुनै मनसाय नरहेको उसको भनाइ छ ।
प्राधिकरणका अनुसार विपद् सुरु भएदेखि नै कर्मचारीका टोली उद्धार र राहतसँगै विद्युत् सेवा पुनःस्थापनाको काममा परिचालित छन् । कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बाबजुद आफ्नै ज्यान जोखिममा राखेर कर्मचारी घटनास्थलमा खटिएको प्राधिकरणले जनाएको छ ।
सम्पर्कविहीन कर्मचारीको खोजीका लागि उपलब्ध साधन, स्रोत र जनशक्ति परिचालन गरिएको तथा सरकार र सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको प्राधिकरणले बताएको छ । प्राधिकरणले यस्तो अवस्थामा आरोप–प्रत्यारोपभन्दा उद्धार कार्यलाई सहज बनाउन एकता, सहकार्य र धैर्यता आवश्यक रहेको जनाएको छ ।
प्राधिकरणले विपद्का कारण अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालनको काम पनि उद्धार तथा राहतसँगै अघि बढाइरहेको जनाएको छ ।

























