
काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावितका लागि क्यानाडा सरकारले ५० लाख क्यानेडियन डलर मानवीय सहायता घोषणा गरेको छ । क्यानाडाको ग्लोबल अफेयर्सले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार उक्त रकम नेपालमा आपत्कालीन राहत तथा मानवीय सहायता सञ्चालनका लागि उपलब्ध गराइनेछ । सहायता संयुक्त राष्ट्रसंघ, रेडक्रस तथा क्यानाडाली गैरसरकारी संस्थाका साझेदारमार्फत परिचालन गरिनेछ ।
क्यानाडाका परराष्ट्रमन्त्री अनिता आनन्द र अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री रणदीप सराईले सहायता घोषणा गरेकी हुन् । क्यानाडाले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा तत्काल आवश्यक खाद्यान्न, अस्थायी बासस्थान, खानेपानी, सरसफाइ तथा स्वास्थ्य सेवा उपलब्ध गराउन उक्त रकम प्रयोग हुने जनाएको छ ।
क्यानाडाले आवश्यक परे आफ्ना आपत्कालीन भण्डारमा रहेका राहत सामग्रीसमेत क्यानाडाली रेडक्रसमार्फत नेपाल पठाउन तयार रहेको जनाएको छ । आगामी दिनमा प्रभावित क्षेत्रमा आवश्यकता स्पष्ट हुँदै जाँदा मानवीय साझेदारसँगको समन्वयमा थप सहयोगको आवश्यकता मूल्यांकन गर्ने क्यानाडाले जनाएको छ ।
बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा रहेका क्यानाडेली नागरिकको अवस्थाबारे जानकारी लिन र आवश्यक कन्सुलर सहयोग उपलब्ध गराउन क्यानाडाले काठमाडौंमा पाँच जना कन्सुलर अधिकारी खटाएको छ ।
उनीहरूले काठमाडौंस्थित क्यानाडाका अवैतनिक कन्सुल र स्थानीय अधिकारी तथा साझेदार संस्थासँग समन्वय गरिरहेका छन् । प्रभावित क्षेत्रमा रहेका क्यानाडेली नागरिक र उनीहरूका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन टोली परिचालित रहेको क्यानाडाले जनाएको छ ।
क्यानाडेली विदेशमन्त्री आनन्दले संकटको अवस्थामा आफ्ना नागरिक तथा उनीहरूका परिवारलाई सहयोग गर्नु सरकारको प्राथमिकता रहेको बताउँदै नेपाल र चीनका प्रभावित सबैप्रति समवेदना व्यक्त गरेकी छन् ।
राज्यमन्त्री सराईले बाढी तथा पहिरोबाट भएको क्षति हृदयविदारक रहेको उल्लेख गर्दै तत्कालका मानवीय आवश्यकता पूरा गर्न क्यानाडाले सहयोग जारी राख्ने बताएका छन् ।
क्यानाडा सरकारले नेपाल तथा चीनको तिब्बत स्वायत्त क्षेत्रमा रहेका आफ्ना नागरिकलाई बदलिँदो परिस्थितिप्रति सतर्क रहन आग्रह गरेको छ । पानीको सतह र बहावमा परिवर्तन हुन सक्ने भएकाले नियमित रूपमा क्यानाडाको ट्राभल एडभाइजरी हेर्न तथा विदेशमा रहेका क्यानाडेली नागरिकका लागि उपलब्ध दर्ता सेवामा आफ्नो विवरण अद्यावधिक गर्नसमेत आग्रह गरिएको छ ।
सम्पर्कविहीन क्यानाडेली नागरिकका आफन्तले क्यानाडाको ग्लोबल अफेयर्सअन्तर्गतको २४ घण्टा सञ्चालन हुने आपत्कालीन सेवा केन्द्रमा फोन, इमेल, एसएमएस, ह्वाट्सएप वा सिग्नलमार्फत सम्पर्क गर्न सक्नेछन् ।

























