
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको चौथो दिन पनि रसुवासहित चितवन, धादिङ, तनहुँ, गोरखा, नुवाकोट र नवलपरासी पूर्वका विभिन्न क्षेत्रमा शव फेला पर्ने क्रम जारी छ ।
अचानक आएको लेदोसहितको भीषण बाढीको मुख्य कारण पत्ता लगाउन जलवायु, हिमाल तथा हिमनदी विशेषज्ञहरूले विस्तृत अध्ययन थालेका छन् ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित १५ हजार २२४ सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालन गरिएको छ । उद्धारका अधिकांश हवाई उडान रसुवाको टिमुरे, त्रिशूली र धुन्चेलगायत क्षेत्रमा केन्द्रित छन् ।
प्रहरीका अनुसार हालसम्म बाढी प्रभावित ४ हजार ४५१ जनाको उद्धार गरिएको छ । २७ प्रहरी कर्मचारीसहित २ हजार ४२६ जना अझै सम्पर्कविहीन छन् । विभिन्न अस्पतालमा १०१ जना घाइतेको उपचार भइरहेको छ ।
बाढीमा परी मृत्यु हुनेको संख्या ६२६ पुगेको छ ।
घटनाबाट भएको क्षति तथा बेपत्ताको पूर्ण र एकीकृत विवरण संकलन गर्ने काम भने अझै जारी छ । प्रभावित क्षेत्रका विभिन्न स्थानमा शव फेला पर्ने क्रम जारी रहेकाले मृतक तथा बेपत्ताको संख्या थपिन सक्ने अधिकारीहरूले बताएका छन् ।
सरकारले राहत तथा सहायता वितरणलाई प्रभावकारी बनाउन एकद्वार नीति लागू गरेको छ । सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

























