
नुवाकोट । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता आफन्तको खोजीमा परिवारजन नुवाकोटको त्रिशूलीस्थित नेपाली सेनाको ब्यारेकसम्म पुग्न थालेका छन् ।
बाढीपछि विभिन्न स्थानमा खोजी गर्दा फेला परेका शवहरू पहिचान तथा व्यवस्थापनका लागि त्रिशूलीस्थित ब्यारेकमा ल्याउने गरिएको छ । आफन्तको अवस्था बुझ्न तथा शव पहिचानका लागि परिवारजन पनि ब्यारेक पुगिरहेका छन् ।
बाढी आएको केही दिन बितिसकेकाले फेला परेका शवहरू सड्न थालेका छन् । शवबाट दुर्गन्ध फैलिन थालेपछि पहिचान तथा व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र आफन्तहरूले स्वास्थ्य सुरक्षाका लागि मास्क लगाएर काम गरिरहेका छन् ।
भोटेकोशीमा आएको बाढीले रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनसम्म ठूलो जनधनको क्षति पुर्याएको छ ।
बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा फेला परेका शवको पहिचान र आफन्तलाई बुझाउने प्रक्रिया जारी छ ।

























