
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका–७ सुङ्देलका शिक्षक भानुभक्त राईको कुटपिटबाट हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ ।
ऋषितर्पणी पूर्णिमाको अवसरमा सालपा पोखरीमा लागेको मेलाका क्रममा बिहीबार भएको विवादपछि राईमाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा सुङ्देलका ११ जना संलग्न रहेको खुलेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको भोजपुर प्रहरी प्रमुख डीएसपी ज्ञानबहादुर खड्काले बताए ।
घटनाको अनुसन्धान भोजपुर प्रहरीले गरिरहेको छ । मृतकका आफन्तले भने दिउँसोको विवादपछि राति योजनाबद्ध रूपमा गाउँले उठाएर कुटपिट गरिएको आरोप लगाएका छन् ।

























