६२६ जनाको शव फेला, २ हजार ४ सय अझै बेपत्ता

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १३, शनिबार १७:३५

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६२६ जनाको शव फेला परेको छ। करिब २ हजार ४ सय जना अझै सम्पर्कविहीन छन् । परराष्ट्रमन्त्री शिशिर खनालले आज -शनिबार) पत्रकार सम्मेलनमार्फत बाढी प्रभावित क्षेत्रबाट ४ हजार ४५१ जनाको उद्धार गरिएको जानकारी दिएका छन् ।

उद्धार गरिएकामध्ये १५२ भन्दा बढी विदेशी नागरिक रहेको मन्त्रालयले जनाएको छ । रसुवा, नुवाकोट, धादिङ र चितवनमा नेपाली सेना, प्रहरी, स्थानीय सरकार, स्वास्थ्यकर्मी तथा उद्धार टोलीले खोजी तथा राहत जारी राखेका छन् ।

Advertisement

सरकारले सुरुङमा फसेकाको उद्धार, जीवित व्यक्तिको खोजी, फरेन्सिक तथा डीएनए परीक्षण र शव व्यवस्थापनका लागि छिमेकी मुलुकसँग विशेष प्राविधिक सहयोग मागेको छ । भारतबाट ११ सदस्यीय सुरुङ उद्धारसम्बन्धी विशेषज्ञ टोली परिचालन भइसकेको छ भने चीनको सुरुङ उद्धार टोली पनि नेपाल आउने क्रममा रहेको परराष्ट्रमन्त्री खनालले बताए ।

बाढीपीडितका लागि भारतबाट ५७ टनभन्दा बढी राहत सामग्री प्राप्त भएको सरकारले जनाएको छ । चीन, जापान, अस्ट्रेलियालगायत मुलुकबाट पनि अत्यावश्यक सामग्री प्राप्त भइरहेको छ । सरकारले पुनःस्थापना र पुनर्निर्माणका लागि समेत अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने जनाएको छ । पूर्वाधार, सडक, पुल, घर तथा जलविद्युत् आयोजनामा भएको क्षतिको विस्तृत मूल्याङ्कन भइरहेको र त्यसका आधारमा आवश्यक सहयोग माग गरिने बताइएको छ ।

नेपालले अन्तर्राष्ट्रिय सहयोग अस्वीकार गरेको भन्ने समाचार गलत भएको सरकारले स्पष्ट पारेको छ । परराष्ट्रमन्त्रीले उद्धार र राहतसँगै पुनर्निर्माणका लागि समेत अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताए । सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा स्वदेश तथा विदेशबाट सहयोग गर्न सकिने जनाएको छ ।

मन्त्रालयले क्षति, मृत्यु र बेपत्तासम्बन्धी तथ्यांक खोजी तथा प्रमाणीकरणसँगै परिवर्तन हुनसक्ने भन्दै आधिकारिक विवरण मात्र सार्वजनिक गर्न आग्रह गरेको छ ।

सरकारले भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनका केही क्षेत्रमा ठूलो क्षति पुर्‍याए पनि नेपालको बाँकी भूभाग सामान्य रहेको जनाएको छ । ती प्रभावित क्षेत्रबाहेक अन्य स्थान विदेशी पर्यटक तथा यात्रुका लागि खुला रहेको भन्दै सरकारले नेपाल भ्रमणमा आउन इच्छुक विदेशी नागरिकलाई स्वागत गरेको छ ।

नदी प्रणाली तथा सम्भावित थप बाढीको जोखिमलाई निरन्तर निगरानीमा राखिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×