
काठमाडौं । भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री राहत कोषमा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका अनुसार उक्त रकम नौवटा वाणिज्य बैंकका खातामा जम्मा भएको हो । यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर सहयोग रकम जम्मा भएको उनले जानकारी दिएका छन् ।
प्रधानमन्त्री शाहले विपद्का बेला प्राप्त सहयोगको पारदर्शी उपयोग र वित्तीय ठगी रोक्न सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड तथा ‘प्रधानमन्त्री दैवी प्रकोप कोष’ र ‘प्रधानमन्त्री कोष’का खातामा मात्र रकम जम्मा गर्न आग्रह गरेका छन् ।
आज -शनिबार) राति आफ्नो फेसबुक पेजमा उनले हालसम्म भइरहेको राहत, उद्धार र खोज अभियानाका साथै विस्थापितहरुको पुनःस्थापनाबारे पनि जानकारी गराएका छन् ।

























